बिहानीको भालेको डाकसँगै
हिँड्नु छ क्षितिज पारिको
यात्रामा
यात्रासँगै मौलाएका
ती रंगीन मोडहरुमा
फेरि पनि विद्रोहको
राँको बल्न सक्छ
लोकतन्त्र,समाजवाद
अनि
साम्यवादका नाराहरु
गुञ्जयमान हुँदै यहाँ ।
आज योद्धाहरु
न त लोकतन्त्र भन्छन्
न त समाजवाद
खै कहाँ छन् साम्यवाद ?
निराशै-निराशाको राजनीतिक
आन्दोलनमा खटिएका
ती शहीदहरुको
आस्था मेटिँदैछ यहाँ ।
आशाको किरण छर्ने युवाहरू
राजनीतिक बन्दी जस्तै भएका छन्
साम्यवादी आन्दोलन जिन्दावाद
समाजवाद – जिन्दावाद
लोकतन्त्र – जिन्दावाद
नाराका पछि लाग्दा लाग्दै
कैयौं पुस्ता बितिसक्यो यहाँ ।
लोकतन्त्रको नारा लगाउने
राजनीतिक दलहरू
जहानियाभन्दा कडा हुँदैछन्
राजनीतिक विचार
जे भए नि यहाँ
फरक पर्दैन युवाहरुलाई
न त देश हाँक्न दिन्छन्
न त पार्टी नै हाँक्न
केवल युवालाई
भर्याङ्ग बनाइरहेछन् यहाँ ।
राजनीतिक परिवर्तनका लागि
कर्मठ युवाहरुलाई
कलिलै छन् भन्दै
नेतृत्व दिन आनाकानी हुन्छ
केवल पुस्ता फेरिन्छ
विचार फेरिँदैन यहाँ
आमूल परिवर्तनको खातिर
युवा मैत्री बनाऊ
राजनीति
अनि बन्छ देश यहाँ ।
दार्शनिकहरु भन्छन्
जुझारु विचार भएका
सबै युवा हुन्
तर मेरो देशमा
न त विचारै जुझारु छ
न त शरीर नै मजबुत
युवाको परिभाषा नै
फरक – फरक छ यहाँ
देश हाँक्न सक्ने
दुनियाँ बदल्न सक्ने
युवाको खाँचो छ यहाँ ।
परिवर्तनको दौरानमा रहेको
मेरो देशमा
अन्याय र अत्याचारको
विरुद्धमा लड्न सक्ने ।
कवि : युवराज घलेभाइ ( गान्तोक )
इमेल : ghalebhaigurung@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।