रूपसिंह भण्डारी

म एक निर्दोष हिमनदीझैँ

बगेँ, बिस्तारै

पहाडी कन्चन नदी बनेँ

अनि दौडिएँ तल तल नाच्दै

जंगलहरुमा, जिस्किदै बेसीहरुमा

हजारौँ अरुहरुसँगै

मिसिदै बनाएँ आफूलाई एक निडर

साहसी।

 

हराउँदै कराएँ कति कन्दराहरुमा

कतै शान्त गहिरो ताल बनेँ,

कतै जादुमायी मायालु झरना बनेँ

जीवनको सारा भूगोल पार गर्दै निरन्तर बगिरहेँ

 

कतै भोका पेटको लागि चोरिँदै

कतै स्वार्थी दुनियाँको उज्यालोको लागि पक्राउ हुँदै

जीवनभर इमान्दारिताको तरलता बाँड्दै बाँड्दै

मैले लामो सभ्यताको यात्रा गरेछु

अनगिन्ती नामले पुकारिँदै ।

 

पापीहरुलाई धुँदै, दुष्टहरूलाई बगाउँदै

भगवानहरुलाई नुहाउँदै

म सागरमा पुगेँ ।

 

र, अन्त्यमा जब मैले

मैरो साहसी यात्राका कथाहरु सागरलाइ सुनाएँ

सागरले दुई हात जोड्दै उसलाई पनि

फेरि हिमाल तर्फको यात्रामा लैजान याचान गर्यो।

 

सुन,

त्यही भएर मैले फेरि

बादल बन्ने निर्णय गरेँ

र, मलाई थाहा छ, यो यात्रा: हिमाल तर्फ़को

कम्ता जोखिमपूर्ण हुने छैन पहिलेको भन्दा

तर,

यात्रा रोकिने छैन, कदापी!