
खिम लाल श्रेष्ठ
हार र जीतको बीचमा
म त मधुरो रेखा देख्छु साथी
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी
जब मझधारमा तिमी पुग्छौ
वारि र पारि सापेक्षित हुन्छन्
एक पाइला पर सरे
पारि पुग्छौ
एक पाइला वर सरे
वारि आइपुग्छौ
तिमीलाई मझधारसम्म
यत्नका साथ काँध थापेर पुर्याउँछन्
तिम्रो हरेक पाइलामा धुरु धुरु रुन्छन्
हार र जीतको बीचमा
म त मधुरो रेखा देख्छु साथी
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी
आफ्नो छिनोफानो आफै गर्छौ
जित्यौं जित्यौं हार सबै निमिट्यान्न भो भन्छौ
असल र खराबको पातलो झिल्लीले
तिमीलाई झुक्याउँछ
हार र जीतको बीचमा
म त मधुरो रेखा देख्छु साथी
उकालो चढ्नु र ओरालो झर्नुमा
म त एउटा बिन्दु देख्छु साथी ।
डा. हिम लाल श्रेष्ठ
अश्राङ्ग, गोरखा
हाल – कटुन्जे, भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 




