तटमा ठोक्किएर टुट्छ
सागरमा लहरको क्रमित्ता
निरिब किनारमा अनि फैलिन्छ निःशब्द ध्वनी
जस्तो,
बज्दाबज्दै चुँडिएको गितारको तारबाट निस्किने बेसुरता
कुनै अपरिचित आदिम पहाड जस्तै
हाम्रो सम्बन्धको डोरी
धुमधुम्ती मुख फर्काएर
चिन्तनको गहिराइमा डुबेको छ
उदासीको बादलभित्र उकुसमुकुस
एक्ला एक्लै पर क्षितिज हेर्दै
फर्केर गएको लहरपछि
केही शान्त जस्तो चुपचाप बसेका छौँ ।