१.

प्रेम नर्मस छैन अहिले
प्रेम मौन छैन अहिले
प्रेम ठ्याक्कै शालीन पनि छैन अहिले

फूलको दोष नै त्यो निर्दोष हुनु

काँडाको दोष नै त्यो विषालु हो भने
पहिलोचोटी जुन दिन हो फूलको हातमा काँडाको डाली देखा परेको

काँडाको हातमा सुन्दर फूलगुच्छा
पहिलोचोटी जुन दिन हो प्रेमले मनमा घातको धारिलो औजार बोकेर हिँडेको

घातको आँखामा सेतो कमल फक्रेको

निर्मल आग्रह

त्यही दिनदेखि न हो प्रेमले रङ्ग फेर्नु थालेको
त्यही दिनदेखि न हो प्रेमले वैरागी राग अलाप्नु छोडेको

किनभने काँडाले नै हो भन्दै-भन्दै आएको
कि फूल कति सुन्दर हुन्छ
कि फूल कति कोमल हुन्छ
तर फूलले त सधैं यही भनिरह्यो
कि काँडा जस्तो विषालु केही छैन
कि काँडा जस्तो खतरनाक केही छैन

फूलले काँडाको बढी बढाई गरेको कुनै आख्यान होला नहोला
तर काँडाले फूलको सौन्दर्यको रक्षा गरेको इतिहास प्रकृतिले दिन्छ

तर जुन दिनदेखि न हो फूल मनलाई बिझ्नु थालेको
त्यही दिनदेखि नै हो फूलको सम्मोहनबाट मन मुक्त भएको
र त्यही दिनदेखि पनि हो काँडाको बिष बेअसर हुनु थालेको

जसरी फूलको आह्रिषले नै हो फूलले आफूलाई कुरूप पारेको
त्यसरी नै फूलप्रतिको आफ्नु प्रेम-समर्पणले हो काँडाले सुन्दरताको नयाँ आयाम स्थापना गरेको

यस्कारण पनि
अहिले घरि प्रेम नर्मस छैन
अहिले घरि प्रेम मौन छैन
अहिले घरि प्रेमको नयाँ आदर्शले दुनियाँ जति उत्साहित

रोमान्चित छ त्यति त कहिले पनि थिएन

काँडाको सुन्दरता निखरेको दिनदेखि नै हो
प्रेम पुनर्भाषित भएको ।

अहिले प्रेमको नयाँ स्वरूपले मोहित छ दुनियाँ ।

यदि कुरा प्रेमकै हो भने प्रिय
त्यो केवल मात्र प्रेम होस्

जसमा
अलिकति पनि कपट नमिस्सेको
अलिकति पनि शंका नउम्रेको
अलिकति पनि घृणा नघोलिएको
अलिकति पनि बेइमानी नलुकेको
तर विशुद्ध

त्यो सम्पूर्ण प्रेम होस्
उज्यालोमा पनि
अँध्यारोमा पनि
सपनीमा पनि
विपनीमा पनि
पानीले धोएको
आगोले खारिएको
हरेक परिक्षाहरुमा उत्तीर्ण तर प्रमाणविहीन्

यदि यो त्यहि प्रेम हो भने मलाई विश्वास छ कि
त्यस्ले मेरा जम्मै मयलहरु धोइदिनु सक्छ
त्यस्ले मेरा सारा घाउहरु जाती पार्नु सक्छ
त्यस्ले मेरो भाँच्चिएको मनमन्दिरको पुनर्निर्माण गर्नु सक्छ
मलाई पूर्णतया नयाँ पार्नुसक्छ

म प्रेम जस्तै हुनेछु

अर्थात उज्वल निष्पाप कलङ्क रहित

म तिमीलाई सुनिरहेछु तिमी मलाई सुनिरहनु

प्रेमको पवित्र नदी हामी बीच बगिरहोस्

हेर्नु घृणालाई
त्यो भित्र पस्नु

जब देख्नेछौ आफ्नु मनको भित्ति चित्रमा
जताततै छलकपटको कालो थोप्ला थोप्लाहरु
बुझनु प्रेम जस्तो निस्वार्थ केही छैन

जब यसको आन्द्राभुँडी केलाएर हेर्नेछौ र देख्नेछौ
कसरी शंका, डर र हताशाहरु गुर्लुम्म गुजुल्टिएर बसेको
बुझनु प्रेम जस्तो निडर र स्वतन्त्र केही छैन

जब त्यसको फोक्सोको मसिनामसिना प्वालहरु पल्टाई पल्टाई हेर्नेछौ र देख्नेछौ
कसरी अमानुषिय मनसायहरु भुरुरुरु उम्रेको
बुझनु प्रेम जस्तो पवित्र केही छैन

यदि त्यो प्रेमकै कुरा हो भने
पहिले प्रेम गर्नु सिक्नु तिमीले
प्रेमलाई कहिले अप्रेम जस्तो होइन तर सप्रेम

प्रेम जसले तिमीसित केही पाउने आशा गर्दैन
तर सर्वस्व दिनुमा तयार बस्छ
प्रेम जस्ले तिमीसित कुनै गुनासो गर्दैन
तर सधै खुसी जाहेर गर्नलाई उसित धेरै कारणहरू हुन्छ

प्रेम
संघर्षको बेलामा तिम्रो ठूलो हिम्मत ऊ नै हुन्छ
अभावको बेलामा तिम्रो सबैभन्दा नजिकको मित्र ऊ नै हुन्छ
जब तिमी लडाईं हारेर हताश मन बोकेर घर फिर्दै गरेका बेला पनि
तिमीलाई ठूलो हौसला
र शक्ति दिने प्रेरणाको स्रोत
पनि ऊ नै हुन्छ

प्रेमलाई सधैं तिमीले प्रेमिल बुझनु
चाहे तिम्रो प्रेम रत्तिभर बढेको होस् या नहोस्
या प्रेमकै प्रेम पनि तिमीलाई घटेको होस् या नहोस्
प्रेमलाई सधै प्रेमिल देख्नु तिमीले

जब तिम्रो प्रेमको कुरा हुन्छ प्रिय
तिमीले केही भन्न नपरोस्
तर प्रेम आफैं बोलेको होस् र संसारले त्यो सुनोस्।