साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्तिम सम्बोधन

Chovar Blues Mobile Size

सक्छौ भने फिर्ता पठाइदेऊ
तिम्रो नाममा सम्बोधन गरी लेखेर पठाएको
मेरो पहिलो प्रेमपत्र ।

जहाँ लेखिएको थिएन
सहरको प्रसिद्धकविको प्रेममय कविताको चर्चित कवितांश
सिनेमाको चर्चित नायकको रेडिमेड डाइलग
तिम्रो लागि खुर्पे जून टिपेर शीरमा सिउरिदिने कुरा
सापटी लिएर–
हिमालसँग अलिकति मुस्कान
फूलसँग अलिकति सुवास
ईन्द्रेणीसँग अलिकति रङ्ग
हृदय तप्काएर हृदयकै मसीले पोतेको थिएँ–
भावनाको क्यानभास
र, त्यसैमा अल्झाई पठाएको थिएँ मन ।

तिमी आकाशझैँ मौन बसिरह्यौ
केबल मौन ।

सयमसँगै
तिमी घाम भयौ र म जून ।

तिमीसँग छुटेपछिका सयौँ रातहरू
सम्झँदै सम्झँदै पत्रका एक–एक अक्षरहरू
हुबहु उतार्ने कोसिस नगरेको होइन
तर, हराए शब्दहरू
जसरी हराएको थियौ तिमी ।

sagarmani mobile size

हरेक पहिलोहरू अक्सर प्रिय हुँदारहेछन्
ज्यादै प्रिय, जस्तो
पहिलो भेट
पहिलो प्रेम
पहिलो स्पर्श
पहिलो चुम्बन
पहिलो विछोड
पहिलो प्रेमपत्र

सक्छौ भने फिर्ता पठाइदेऊ
तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको
मेरो पहिलो प्रेमपत्र ।

 

प्रतिक्रिया
Loading...