सधैँ सधैँ नयाँ खबर
सोधिरहने मेरी प्रियालाई के भनौँ
एक दिनमा अनि छिनछिनमा
कति गर्न सकिन्छ र यो परिवेशमा
र तिमीलाई खास प्रगतिको आभास दिऊँ
यहाँ जिन्दगी नै लकडाउनमा छ
एकान्तबासमा कहिले उता कहिले यता
फेरि कहिले यता अनि कहिले त्यता
के हुनसक्छ र नयाँ यो यता र त्यतामा ?

दिनरात
यो सहरको अनकन्टार भाँसमा भाँसिएर
भौतारिँदै खोज्दा त नभेटिएको
त्यो नयाँ
लकडाउनको यो जेलभित्रबाट म तिमीलाई
के दिन सक्छु र नयाँ ?
यो बन्धनबाट म तिमीलाई
के सुनाउन सक्छु र नयाँ ?
अनि तिमी नै भनन
के पठाउन सक्छु र नयाँ ?
केवल मसँग त्यही पूरानो
जोदेखि तिमी अपरिचित छैनौ
उही रित्तो र शून्य
म अनि मेरो खबर

प्रिय सपना !
थाहा छ मलाई
तिमी के चाहान्छ्यौ
र यो पनि थाहा छ कि
मेरो विवशताको भूमरीमा
तिमी पनि उत्तिकै पिसिएकी छ्यौ
उत्तिकै थिचिएकी छ्यौ यी चासोका भारीले
मभन्दा अप्ठ्यारोमा तिमी नै छ्यौ
जसको कारक त्यही मेरो हुन नसकेको नयाँ खबर
रमिता हेर्दाहेर्दै समयको जाँतोले दुवैलाई पिसिसकेछ
सपनाका चाङ यति भएछन् कि
पल्टाउनै नसक्ने गरी थिचिसकेछन्
प्वालै प्वाल परेको डुङ्गा अनि भेल
थाहा छैन खै कहाँ हुन्छ हाम्रो अन्तिम बिन्दु
जहाँ तिमी र मेरो छितिज होस्
मिलनको साँझ अनि मधुमास

सायद मेरो वशमा हुन्थ्यो भने
सारा यी खबरलाई लकडाउनमा थुनिदिन्थेँ
अनि सुनाउथेँ तिमीलाई
जिन्दगीका अनगिन्ती रहरमा गुम्सिएर
फाट्नै लागेका नयाँ खबर,
अनि मुटुमै घोचिरहने तीखा
तिम्रो थोत्रिएको उही प्रश्न
सुन्न पर्ने थिएन मैले
अनि सबका सब नयाँ मात्र
केवल तिमीले खोजेजस्ता
तिमीले सुन्न चाहेजस्ता
बारम्बारका प्रश्नहरूले मागेजस्ता
नयाँ मात्र खबरको भण्डारमा
तिम्रो आगमनको उत्सव मनाउथेँ
नयाँभित्र तिमी झन नयाँ हुनेथियौ
तिम्रो ओठ नयाँ, तिम्रो मुस्कान नयाँ
सबका सब नयाँ
अनि त म पनि नयाँ
मेरो खबर नयाँ
अनि हुनेछ सबथोक नयाँ
मेरो नयाँ खबर