
डा. अनु शर्मा कौलः
डा. अनु शर्मा कौल पंजाबस्थित लुधियानाकी कवयित्री हुन्। हिन्दी भाषाकी अध्यापिकाको रूपमा कार्यरत डा. कौलका ‘आर्यत्व सोपान’ (विचारात्मक सङ्ग्रह), ‘स्तुति सोपान’ (विचारात्मक सङ्ग्रह), ‘आखिर ऐसा होता क्यों है’ (काव्य सङ्ग्रह), ‘पंजाब के हिंदी साहित्य को आर्य समाज का योगदान’ (शोध ग्रंथ) आदि पुस्तकहरू प्रकाशित छन्। उनले कविता ‘राष्ट्रवीर’ हेतु भारतका भूतपूर्व महामहिम राष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामबाट प्रशस्ति पत्र प्राप्त गरिसकेकी छन्। उनले गजल सङ्ग्रह, कविता सङ्ग्रह, कथा सङ्ग्रह, लघुकथा सङ्ग्रह अनि साहित्येतिहासमाथि आधारित लगभग २० वटा पुस्तकहरूका समीक्षा एवम् शोधवार्ता प्रस्तुत गरिसकेकी छन्। हिन्दी भाषा एवम् साहित्यमा योगदान हेतु ‘पंजाब हिंदी परिषद’, ‘राष्ट्रीय कवि संगम’, ‘अमित साहित्य सभा’ आदि द्वारा उनी सम्मानित भइसकेकी छन्।
१. कविता लेख्न सकिनँ मैले
कविता लेख्न सकिनँ मैले
तिम्रो वियोगमा
धड्किएनन् शब्दहरू
स्पन्दित ह्रदयमा
हाँस्दै हाँसेन कविता
मुस्कुराउँदो ओँठहरूमा
चुप्प लागेर सबैले मलाई प्रश्नहरू तेर्स्याइ रहे
अनि आफ्नो मौनताले म कथाहरू भन्दै गएँ
कविता लेख्न सकिनँ मैले
किनकि सम्झना भनेको
रोकिँदै बग्ने नदीझैँ बहने गर्छ
अनि दत्तचित्त भएर म
वियोगको पीडालाई सहँदै गएँ
मुस्कुराए ओँठहरू
नदीहरू बग्दै गए
सागरको गुँजाइमा
मौनताका साथ गर्जिरह्यो नदी
सबै थोक थियो….
तैपनि
कविता लेख्न सकिनँ मैले।
********
२) आत्मबोध
शब्दहरूका अवाञ्छित जाल बुनेर
मैले स्वयङ्लाई नै एउटा कविता बनाएकी छु
शब्दहीन…
सौन्दर्यहीन…
भौतारिएको कविता
एउटा अर्थपूर्ण अक्षरको खोजिमा
आफ्नो अस्तित्वका निम्ति सङ्घर्षरत
तर…
प्रत्येकपल्ट परिणाम आउँदछ
एउटा गहन विषादबोधको
विषाद…
नचाहेका
नचिनेका केही
हातहरूबाट फुत्किएझैँ-
आफूभित्र निहित
भग्नताका कारणहरूलाई
बाहिर खोज्ने प्रयासले
प्रत्येकपल्ट
गहन विषादबोध गराउँदछ
अनि हामी
यस भारीपनबाट कहिले मुक्त हुनै सक्दैनौँ
आफैबाट टाढिन-टाढिन थाल्छौँ
बन्छौँ शब्दहीन, सन्दर्भहीन…
भौतारिएका कवितादेखि
सायद-यही जिन्दगी हो।
*******
३) मेरो पिता
त्यो…नीलो तारा
किन हो किन…
मलाई मेरो पिताझैँ लाग्यो
त्यस्तै जगमगाउँदो रूप
त्यस्तै उघ्रिएको आकार
मलाई आफ्नो अङ्गालोमा लिन आतुर
किन हो, आँखाहरू डबडबाएका छन्
अनि, मन मानौँ आँसुको भेलमा
डुब्न खोजिरहेछ।
के साँच्चै, जो संसारका भीडमा हराउँने गर्छन्
उनीहरू तारा बन्छन्?
जगमगाउँदै
टिमटिमाउँदै
हामीलाई बोलाउँछन्
हामीलाई अङ्गाल्न
आतुर बनेर
आखिर…किन
संसारबाट एकजना व्यक्तिको सम्बन्ध टुटेर
टाढा पुगी यसरी हराइदिन्छ कि
जानेहरू कहिले फर्केर आउँनै पाउँदैनन्
अनि किन…
मनको पीडाले बारम्बार बोलाइरहन्छ
त्यही सम्बन्धहरूलाई
जो टुटेर पनि
जहिल्यै मनमा जोडिएर बसेका हुन्छन्।
*******
बिलोक शर्माः
बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१ माघ २०८२, बिहीबार 









