आरबी हिमाली

आज समय त धेरै टाढा पुगेछ आमा

सपनाको लतले घुमाउँदा घुमाउँदै
म त यै सहरको भीडमा कतै
बूढो पो भएछु आमा

अब त घर फर्किन्छु होला

बरु !
मुखिया बालाई गैरिखेत धितो राखी
मलाई घर सम्म पुग्ने
बाटो किनी पठाइदेउन आमा

अब त बस्दिनँ आमा
तिम्रो गिट्टी फोरेको हातले सपना बुनेर यहाँ

अब त सक्दिनँ आमा
तिम्रो दमको ओखती बन्दकी राखेर
च्याप्पिएर बस्न यहाँ

अब फर्किएर गाउँमै रोप्छु बरु
बाको पसिनाले किनेको खेतमा
सपनाको हरियो बिरुवा

अब त्यतैको माटोमा उम्राएर एक पाते बिरुवा
र लगाइ दिन्छु
बाको ठेला परेको हातमा ओखती

बरु सुरु गर्छु आफै सपना बनेर
सपना बोक्नेहरुको सपना

किताब र कलम बोकेर सार्है गल्ती गरे आमा

अब चिहानमा गाडेर किताब र कलमको पुन्तरो
बोक्छु हतौडा
र चुली फेर्छु
बा र तिम्रो पसिनाले बनाएको घरको

आँसी समात्न सिक्छु
कोदालो चलाउन सिक्छु
र त्यतैको गोरेटोमा कोर्छु आफ्नै जीवनको महा आख्यान

बाटो हेर्दै बूढो भएको
माइला दाइको बाँझो खेतमा
अब लेख्छु एउटा कविता
र उम्राउँछु
ठूली आमाको आँखामा प्रेमको फुलबारी

यो सहर त सपना देख्नेहरुको होइन रहेछ आमा
बरु सपना किन्नेहरुको रहेछ

सपनाको भाउ धेरै महङ्गो हुँदो रैछ यहाँ
र बिक्तो रैछ कागजको खोस्टोमा आमा

त्यसैले मैले निधो गरिसके आमा
अब म गाउँमै बस्छु

बाले जीवन पढेर जीवन चलाउन सिके
मैले ज्ञान सिकेर अहंकार थुपार्न सिकेँ

बरु बाकै शिक्षाले खान पुग्ने रैछ आमा
बाकै पसिनाले बाँच्न सकिँदो रैछ आमा

आज आएर बुझ्दैछु आमा
म ज्ञानको भारी बोकेर गरिब भएँ
बा जीवनको रङ चिनेर धनी भए

अब त जरुर बाकै बाटो हिँड्छु आमा
बाकै हातबाट सिक्छु बरु
अनौ समाउँन

र सिक्छु बाले झै धर्ती फोर्न
र फेरि उमारी देखाउँछु
समय सितै चाउरिएका बाको गालामा
प्रेमको गुलियो मुस्कान

सपनाको बोट खोज्दै म सहर नझरेको भए
बाले आधि सम्म त लेखी सक्थे होला
आफ्नै जीवनको महाकाव्य

तिमीले पनि आफ्ना सपनाहरु
बटुली राखेको भए आमा
एउटा कथाको पान्डुलिपी पक्कै बन्थ्यो होला

त्यसैले आमा अब गाउँ पर्खिन्छु
र पहाडको आलिहरुमा
मार्सी र फाँपरको सङ्गीत सित्तै पूरा गर्छु
बाको माहाकाव्य

बगरका ढुङ्गाहरु सीत मीत लगाउँछु
र तिम्रो कथाको पाण्डुलिपीमा थपी दिन्छु
मैले चुहाएका तिम्रा कथाका हरफहरु

बरु !
मुखिया बालाई गैरीखेत धितो राखी
मलाई घर सम्म पुग्ने
बाटो किनी पठाइदेउन आमा ।