कविताः आगो हो त्यसको अन्त्य त साधारण हुनै सक्दैन
आगो हो
त्यसको अन्त्य त साधारण हुनै सक्दैन
कविता हो
उसले छोएजति जीवन त निदाएर बस्नै सक्दैन
तिमीले देखिहाल्यौ यसपाली
षडयन्त्रको पर्खालको ढुङ्गा, जेलको फलाम पनि आगोको रापले पग्लेको
भ्रमको सिक्री तोडेर निस्केका जिन्दगीहरु — कविताको चेतनाले
हो, ख्यालै नगरीकन
आगोको तातोपनाले, कविताको चेतनाका हातहरुले
तर्सिने गरी छोएरै जान्छन् जिन्दगीहरुलाई, मानिसहरुलाई
जति नै अनदेखा गरे पनि
भेट्टाइहाल्छन्
दिशा संकेत गरेर जान्छन् तिनले
जस्तो कि कसैले वास्तै नगरे पनि
अन्याय सहिरहेको समूहले
न्यायको लागि न्यायालयको ढोका ढकढकाई हाल्छ एक दिन
जस्तो कि, जति नै नदेखेजस्तो गरेर गए पनि
प्रकाशले अन्धकारलाई लखेटी लखेटीकन भाग्न वाध्य गराउँछ ।
कैयौं वर्षअघिदेखि
मैले तिमीहरुलाई जगाउँदै थिएँ कविताको चेतनाले
कविताको आगोको तातोले
अहो, तिमीहरु शंखकीरासरी खुम्चेर बाँच्नुमै कति अभ्यस्त !
शंखभित्रको परिधिलाई नै संसार ठानेर
बाँच्नुको नाममा फगत सास फेरेर
हत्या गर्दै छौ आफैंले आफ्नो वर्तमान, आफ्नो भविष्य
अघि बढ्नुको नाममा एउटै घेराभित्र भाग्दै
आफ्नो छातीमा तक्मा चिप्काएर
आफैंले आफैंलाई बधाइ दिने उत्सव आयोजनामा व्यस्त तिमीहरु
हो, तिमीहरु देख्दैनौ, बुझ्दैनौ
तिमीहरु त बाँच्दै छौ जग नभएको घरभित्र
तिमीहरु त जरा नभएको रुख, पहिरो गइरहेको पहाड !
आज मैले, मेरो कविताले
मुक्त गरि नै दियो तिमीहरुलाई
त्यो लामो भयानक सम्मोहनबाट
अब, अघि बढ तिमीहरु, जिन्दगीको एउटा समूह
नयाँ विश्वासले भरेका पाइलासित
आफ्नो वर्तमान आफ्नै योजना अनुरुप बनाउन
नयाँ मूल्य, मान्यता स्थापना गर्न ।
हेर, यो समय
दण्डित गर्न आएका मण्डलीसित भएका
सबै डोरी टुक्रा टुक्रा पारेर
प्रमिथियसले भनेका छन्—
“मलाई दण्ड किन ?
षडयन्त्र गर्ने त तिमीहरु हौ
हो, तिमीहरुको लामो समयको कपटलाई मैले असफल बनाइदिएँ
षडयन्त्रको पर्दा उघारिदिएँ
यो अपराध होइन
अब, प्रत्येक समय, यो वर्तमान, आउने भविष्य
मेरो हो, मान्छेहरुको हो
मसँग आउने जिन्दगीहरुको हो
कसैले रोक्न खोज्नु व्यर्थ हो यो प्रयासलाई … ।”
प्रमिथियस अघिअघि बढ्दै छ
उसको पछिपछि बढ्दै छ जिन्दगीहरु
मुक्त सास फेर्दै
उदांगो आकाश हेर्दै
फराकिलो मैदानतिर ।
अरे, गर्व लाग्छ — कम्तीमा जिन्दगीले आज
पानीलाई पानी त भन्नसक्यो
हावालाई हावा त भन्नसक्यो
उज्योलोलाई उज्यालो त भन्नसक्यो
आगोलाई आगो त भन्नसक्यो ।
अनुवादः आर. मानन्धर
श्रोतः कोशल्वहं (कविता संग्रह, ने. सं. ११३७)
कवि परिचय
डा. आनन्द जोशी (जन्म ई.सं. १९४८) नेपालभाषा काव्य क्षेत्रमा अलगै विशेषता बोकेका कवि हुन् । नेपालभाषाको आधुनिक कविताको उत्थानर आधुनिक हाइकुको थालनीमा उनको महत्वपूर्ण योगदान रहेको छ । लामो समयदेखि अटुट रूपमा काव्यकर्ममा लीन उनका कवितातर्फ चार कृति, हाइकुतर्फ पाँच कृति र समालोचनातर्फचार कृति प्रकाशित भइसकेका छन् । वहाँको विस्थापित जि— “जि” मखु कविता संग्रहलाइ ने. सं. १०९६मा श्रेष्ठ सिरपाः प्रदान गरिएको थियो ।
व्यावसायिक रूपमा उनीवातावरणीय व्यवस्थापनको विज्ञ हुन् । बेलाइतको युनिभर्सिटि अफ वेल्सबाट उनले वातावरणीय ब्यवस्थापनमा विद्यावारिधीगरेका छन् । अन्तराष्ट्रिय संस्था साउथ एसिया इन्भारोन्मेटल कोपरेशन प्रोग्राम (साकेप) र साउथ एसियन रिजनल सी प्रोग्राम (सास)का महानिर्देशक भई श्रीलंकामा काम गरिसकेका उनका हालसम्मवातावरण र जैविक विविधता तर्फ चार पुस्तक प्रकाशित छन् । उनी वातावरण तथा साहित्य सम्बन्धी विभिन्न संघसस्थामा आवद्ध छन् ।
मूल नेपाल भाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।