हरक्षण म खोजिरहेछु

तिमीलाई पर्खिरहेछु

सवालै सवाल मनभरि आँखाभरि

त्यसैले प्रतीक्षा गरिरहेछु

सोध्नु छ

जीवन

जगत

प्रेम

घिन

यावत् कुरा

युवराज भण्डारी

तर अहिलेलाई एक मात्र प्रश्न राख्छु

बिन्ती यत्ति जवाफ देऊ

भगवान

भन म को हुँ ?

 

मेरो

नाम

ठेगाना

पेशा

नाता

यी सब मबाट हटाउँदा बाँकी रहँने

म को हुँ ?

 

धेरै चीज आफ्नो सम्झेको छु

धेरै मानिस आफ्ना ठानेँको छु

धेरैको हुन सक्ने

स्वयमं आफ्नो हुन नसक्ने

म को हुँ ?

 

थाहा छ तिमी सबका ईश्वर हौ

तर म तिमीलाई मेरो प्रभु भन्छु

ईश मेरा

वंश मेरो

सम्पत्ति मेरो

श्रीमती मेरी

भएभरिको आफ्नो भन्ने भ्रममा म त

म को हुँ ?

 

आरम्भ गर्न डर मान्ने

आफूभन्दा बढ्ता अरूमा भर मान्ने

छुटेको रेल सम्झी आँखा भर्ने

उही गल्ती बारम्बार पुनरावृत्ति गर्ने

म को हुँ ?

 

ज्ञय देखि पर पर भागी हिँड्ने

भीडको पछि लागि अज्ञय पछाडि दौडिरहने

अध्यात्म र मानव धर्मको चेत नभएको

थाहा छैन भन्ने पनि थाहा नभएको

भौतिक सुखसयलमा मग्न

म को हुँ ?

 

सफल हुँ भन्दै अनेक भाकल गर्ने

तर अनुशासन भने पालना नगर्ने

ईर्ष्याको अग्निमा जलेर मरिरहँने

जो जे देख्यो त्योसँग आफूलाई तुलना गरिरहँने

जागरुकताको सुगन्ध भेऊ नपाउँने

म को हुँ ?

 

पैसाको लागि इमान आदर्श बेच्ने

आफूलाई सर्वज्ञानी सर्वश्रेष्ठ ठाँन्ने

हिंसा पशु वध गर्ने

अनाज वनस्पति पशु पन्छी सब थोक खाँने

मधु कुण्डमा नुहाउँने

बिहान नछुने किरिया खाँने

साँझ नपर्दै फर्केर मधुशाला जाँने

यसरी स्वयंलाई धोका दिइरहँने

म को हुँ?

 

सानो काँडा बिझ्दा धुरुधुरु रुन्छु

अरुलाई बिझ्दा झन् काँडामाथि घन लगेर ठोक्छु

कसैलाई पछार्नुमा आफ्नो जीत देख्ने

करुणा अनि शान्तिका कविता लेख्ने

आगोको बोटमा फूल जस्तो

म को हुँ?

 

बलिरहेको आगोमा हिउँ भई फुल्छु

पानीमा फिलिङ्गो भइरहन खोज्छु

जीवनको पूर्वार्द्धमा लहैलहैमा लागेँ

उत्तरार्धमा पुगेर सुरुवात खोज्न थालेँ

चिन्ता धेरै लिने चिन्तन रत्ति नगर्ने

म को हुँ ?

 

जब कहीँ कतै कसैको मरण देख्छु

हरे कृष्ण जप्दै गीता सार सम्झन्छु

दुईचार दिनपछि फेरि सुनका सीता सम्झन्छु

थोरै मानव

धेरै दानव

अनेकन् जीवजन्तुको स्वभाव भएको

सन्तुलन कत्ति पनि थाहा नभएको

म को हुँ ?

भगवान

भन म को हुँ ?

 

तनहुँ, हाल: टोरन्टो, क्यानडा