एकदिन यसरी नै
मानसले दुई कलिला खुट्टा टेकेर
भुईँमा उभिनु सिकेको हो
र त्यही दिन हो उस्ले पहिलोचोटी आकाश देखेको
असीमित र अन्तहीन अम्बर देख्दा
अवोध मानसले धेरै बेर नियालेर हेरेको ।

निर्मल आग्रह

मानस स्यानु छँदा बस्ती पनि स्यानु थियो
मानस बढ्दै गयो बस्तीको रूपान्तरण हुँदै गयो
आज सहर भएको छ
र मानस पनि
तर मानसले आकाश ताक्नु छोडेको छैन
आकाश सम्म पुग्ने सीँढीको खोज जारी छ ।

मानिसले बसाएको सहर एउटा सीँढी नै हो
सीँढी भनेको नै अग्लिनु हो
आकाश छुनु हो
(सीँढीको साइजले नापिन्छ सहरको उचाई)
तर त्यसको अनन्त अग्लो-माथि कोही बस्दैन
न कोही मान्छे छ त्यहाँ ।

मानसलाई थाह छ कि छैन !

२.

निद्राको आँखाबाट उम्केको सपनाको अन्तिम झझल्को
र खुल्ला आँखाले झम्टिरहने विपनाको यथार्थ एउटै छ
अर्थात जिब्रोमा टाँस्सेको बेस्वादको तीता परत

सहरको रामझम
र वेश्याको चिल्ला फिला एउटै सरह छ
दुईटैको पातलो घाँटीमा झुन्डेको छ महंगो प्राइज ट्याग

आँखा खोली हेर साथी र भन
कस्तो छ यो विपनाको यथार्थ !

मस्तानपुरका बलशाली मस्तानले बयालीस इञ्चको छाती खुल्ला देखाएर
सहरको मूल चोकमा उभ्भी पाखुरा सुर्काउँदै
सहरभरका सज्जनहरुलाई ललकारिरहेको छ
मर्द मान्छेहरु घर छोडेर कता गएछन् कुन्नी !
स्वास्नी मान्छेहरु घरधन्दामै व्यस्त !
सहर लाजले पानी पानी भएको छ।

आँखा खोली हेर साथी र भन
कस्तो छ यो विपनाको रङ्ग !

चाँदनी नगरका नामी वेश्याले ग्राहक लोभ्याउनलाई
घाँग्रा घुँडादेखि मास्तिर तानेर सहरको मूल फाटकमा उत्तानो
परेर ढल्किदिएकी छ ।

सहर आँखा छोपेर सडक मुख लुकाउनलाई अँध्यारो कुना खोज्दैछ ।