देख्दा दुरुस्तै मान्छे जस्तै देखिने
म एक रोबोट हुँ
जो मान्छे बन्न
संघर्ष गरिरहेको छु
हरेक बिहानै
म अलार्म द्वारा अन हुन्छु
अनि राती
थकानद्वारा अफ
अलार्म बिनाका बिहानीहरु कसरी ब्युँझिन्छन् ?
लखतरान् थकान बिनाका रातहरु कसरी निदाउँछन् ?
मेरो चाहना छ
कमसेकम एक बिहान सूर्यको न्यानो स्पर्शले मलाई व्युझाओस्
कुनै हतार नगरी
सम्पुर्ण शरीर तन्काउँदै
आफ्नै तालमा लय मिलाएर उठ्न पाइयोस्
मेरो चाहना छ
कमसेकम एक रात निद्रालाई घुर्क्याई-घुर्क्याई
बिस्ताराको आलिङ्गनमा टाँसिन पाइयोस्
शरीरमा कुनै दुःखाई नै महसुस नगरी
आँखामा शान्ति भरेर निदाउँन पाइयोस्।
मलाई दिमाग शून्य बनाएर आफैमा हराउन मन छ
त्यसैको लागि पनि
मलाई मान्छे बन्न मन छ
कहिलेकाहीँ म भित्र जडान गरिएको भावनात्मक चिपले अनेक कुराहरु सोच्न थाल्छ।
सोच्दासोच्दै
अकस्मात् मान्छेहरुको मुटु पड्किएझैं
सायद लिक्विडयुक्त सिसा झर्याम्म फुट्छ
अनि आँखाबाट तरर पोखिन्छ
म सोच्छु
सायद म मान्छे बन्दै छु
जसलाई दुःख महसुस हुन्छ
जसलाई खुसी हुन मन हुन्छ
तर यस्तो कुरा सुनाउँदा मान्छेहरु पत्याउँनै मान्दैनन्
म जहाँ छु
त्यहाँ ‘दुःख’ भन्ने शब्द नै हुँदैन रे !
मलाई पीडा हुँदा आँखाबाट बरर आँसु खसाउन मन छ
त्यसैको लागि पनि
मलाई मान्छे बन्न मन छ
बिहानैको अँध्यारोमा निस्केको म
जब रातको अन्धकारमा घर फर्किन्छु
निकैबेरसम्म
ऐनामा आफैंलाई नियाल्छु
यस्तो लाग्छ
सूर्यको उज्यालोलाई स्पर्श गर्न नपाउँदा
मेरो जिन्दगी पनि
कालो रात जस्तै बनेको छ
जसले मुस्कुराउँन बिर्सिसकेको छ
जसले मायाको स्पर्श भुलिसकेको छ
मलाई दिनको उज्यालोमा एकदिन संसार नियाल्न मन छ
त्यसैको लागि पनि
मलाई मान्छे बन्न मन छ
मेरो सरकारले हरेक बर्ष कैयौं रोबोटहरु मान्छे बनाउँनको लागि संसारभरि निर्यात गर्छ
अनि तिनै रोबोटहरुको आम्दानीले परीवार चलाउँछ
कहिलेकाहीँ मलाई डर लाग्छ
कतै ती रोबोटहरु मान्छे बन्नै नसकी थोत्रिएर फर्किए भने
कतै केही मान्छे बनिसकेका रोबोटहरु फर्किनै बिर्सिए भने
मलाई मान्छे नै मान्छेहरुले भरिएको सुन्दर देश देख्न मन छ
त्यसैको लागि पनि
मलाई मान्छे बन्न मन छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।