Chovar Blues Mobile Size

वसन्त खनाल

आकाशमा चम्किने

गड्यागुडुङ गर्नेले
न शक्ति दिन्छ
न सामर्थ्य नै आँक्छ
शक्ति त
जो निरन्तर बगिरहन्छ
त्यो नदीमा हुन्छ ।

मलाई
समुन्द्री छालको
मतलब छैन
न त
वेगले बहने आँधी
तुफानको तुजुक लाग्छ
केवल मलाई
आफ्नै तिरतिरे धाराले
प्यास मेटाउनु गज्जब लाग्छ
गज्जब लाग्छ,
देउरालीमा सुस्तरी बहने
चौतारीको शितल पवन ।

आधा पेट खाएर
पटुकी कसेर
आफ्नै आमाको
न्यानो काखमा
लुटपुटिन्छु
गर्दिन मद्दत
वृद्धाश्रमको छानो छाउन ।
धाइआमाको काखलाई
आफ्नो मानेर,
आमालाई
वृद्धाश्रम पठाउन
दाता बनेर
लगाउदिन
खादा माला र अबिर।

न त मलाई एकसरो आङ
ढाक्न एकजोर सन्धि गर्नुछ
भए पेटभरि खाइदिन्छु
नभए खाली हात धोइदिन्छु
पुर्खाको विरासत बचाएर,
भावि पिँढीलाई
सग्लो एकमुठी माटो दिन्छु
मेरो राष्ट्रियता बेचेर
किन्दिन अरूको राष्ट्रियता
विविध नामधारीका राष्ट्रियताहरू।

पत्थरलाई पगालेर हिमनदी बगाइदिन्छु
माछापुच्छ्रेमा सुनको जलप लगाइदिन्छु
बादललाई गाँसेर माला उनिदिन्छु
सगरमाथा शीरमा टोपी पहिराउँछु
मलाई कसैको,
चाहिँदैन एक चिम्टी माटो
दिन्नँ कसैलाई एक कण मेरो माटो
कसैसित एकजोर सन्धि,
गरेर जानु छैन पोइल
पगाल्ने कोसिस गर्दै नगर
हिम थुप्रेको मेरो,
फराकिलो छाति।

वालिङ नगगरपालिका -१४, गाएडाँडा, स्याङ्जा