हिजो जस्तो
आज छैन म
अस्तिको जस्तो
खै कसरी हुनसक्छु ?

राजबल्लभ कोइराला

जन्मेदेखि यता
उमेरको अङ्क फेरिएजस्तै
जीवनको रङ फेरिएजस्तै
फेरिएँ होला मैं पनि
हो,
एकदमै फेरिएँ ।

ऐना उस्तै रह्यो
म फेरिएँ
टाउकाको
कपालको सङ्ख्याझैँ
गालाको
दाह्रीको रङजस्तै ।

कस्तो प्राकृतिक रहेछ है यो फेराइ,
यो परिवर्तन ?
दिनभरि त्यसै टोलाएर बस्दा त
आकाश फेरिन्छ
बादलका आकारप्रकार
अनि सिङ्गो दिन,

हेर न, साँझ पर्दैछ
अघिसम्म दिन थियो ।

म पनि,
यसैगरी अर्कै भएँ होला ।

अनि,
भोलि झिसमिसेमा समयउस्तै हुन्छ
अघिजस्तै
उज्यालो
दिन अनि रात ।

प्रकृति त समयको पनि फेरिन्छ है !
उज्यालो अनि अँध्यारो
अनि झल्यास्स सम्झिदो हो
अनि फेरि उज्यालो
अनि फेरि बिर्सदो हो
अनि फेरि अँध्यारो ।

म पनि त समयजस्तै हो
तिमी फरक छ्यौ र ?