मलाई निश्चित समयका लागि
अस्थायी रुपमा
खेल खेल्न पठाइएको हो
म खेल्ने छु
अन्तिम श्वास रहदा सम्म
एउटा संघर्षको खेल
अनि अर्को जिन्दगीको खेल
निरन्तर साधना पछि
जित्ने छु संघर्षको खेल
अनि लाग्ने छन् सारा मेरो पछाडि
दुनियाँ संघर्षको खेल
जित्यो भनेर मलाई पछ्याइरन्छ
मलाई त जिन्दगीको खेल जित्नु छ
त्यसैले म अझै दौडिरहन्छु
कैयौं उकालीहरु चढे
अझै उकालीहरु आई नै रहे
कैयौं क्षितिजहरु काटे
तर हिँडेर कहिल्यै सकिएनन्
मेरो पछाडि दौडिरहेको दुनियाँ
कहाँ अल्झियो पत्तै भएन
म कहाँ अल्झिएको छु
आफैलाई थाहा छैन
के जिन्दगीको खेल यही हो ?
म आफैंले आफैंलाई प्रश्न गर्छु
जब म अरु भन्दा अगाडि थिए
तब मैले संघर्षको खेल
जितेको महसुस गरेको थिएँ
तर
जब मैले जिन्दगीको गन्तव्य भेट्टाउन सकिँन
तब मैले जिन्दगीको खेल त हारेँ हारेँ
संघर्षको खेल पनि हारेको रहेछु
हारेर पनि सकेसम्म हार मान्ने छैन
जब जिन्दगी देखि जितेका कोही भेट्दिनँ
तब हार मान्न बाध्य हुने छु
त्यसपछि जानेछु एकदिन
खेल कहिल्यै नखेल्ने गरी
म पृथ्वीको एउटा
पाहुना बनेर आएको न हुँ
मलाई जानुमा केही पीडा हुने छैन
किनकी मेरो मन
आफैँ देखि टाढा पुगिसकेको हुनेछ
अनि आफ्नै मनदेखि हारिसकेको हुनेछु
अनि घर परिवार आफन्तबाट हार्नेछु
संघर्षबाट त पहिल्यै हारिसकेको थिए
अनि बिस्तारै
आफ्नै शरिरबाट हार्ने छु
आफ्नै आवाजबाट हार्ने छु
आफ्नै दृष्टिबाट हार्ने छु
आफ्नै श्रवणबाट हार्ने छु
आफ्नै श्वासबाट हार्ने छु
अन्तमा संसारबाट हार्ने छु
प्रेम प्रकाश थापा क्षेत्री
गंगादेव गाउँ पालिका ४ रोल्पा ।
धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।