मनिष प्रज्ञा

काला पहाड आएदेखि
खोई कुन उमेरमा आएको हुँ पत्तै छैन
कुन ऋतुमा झरेको हुँ होसै छैन
तर मनै कालो भएको छ
विरक्तिएर
रित्तिएर
निसासिएर
मनै पहाड जस्तो सहनशील भएको छ
बाले जन्मिँदै म बाउ भएर जन्मिएको भन्थे
जहानको छानो अब यसैले टाल्छ भन्थे
त्यसैले त कलिला खुट्टाले बुट बजार्न सिकेको छु
कोमल हातले इलम गर्न सिकेको छु

गाउँबाट हिडेर सुर्खेत नेपालगन्जसम्म आको त याद छ
ठाउँहरू बकैदा ताजै छ
त्यहाँ टेक्नमात्र पाए अँध्यारोमै घर पुग्थें
केले तान्यो कसले डोर्‍यायो
पत्तो पाको होइन
काला पहाडमा एउटा मसान बस्दो रैछ
मेरा गाउँका सबैलाई तानेर ल्याउने
कति बलिया मसान हुन्
पन्छाउँनै नसकिने
मेरो बाल्यकाल
मेरो किशोरावस्था
मेरो यौवन यै भूतले खायो

पोहोर गाममा
चामल र नुनको डिपोबाट राजनीति गर्थे
अहिले डंगुरका डंगुर डोजर गाछन् गाममा
खस्रा खस्रा लहरहरु गाछन् गाममा
चिल्ला चिल्ला भाषणहरु गाछन् गाममा
तर अहिलेसम्म गाउँमा रोजगारी गएन
धुलाम्मे बाटो गयो
अप्ठेरो घाटो भयो
चोर गयो
सिकारी गयो बीउ गएन
शिक्षा गयो
दीक्षा गयो चेतना गएन
धेरै गए गाउँमा
तर पनि गाउँ रित्तो छ
मेरो आमालाई अझै बोक्सी भन्छन् क्यानम्
लच्छिनी अलच्छिनी अझै छुट्याउँछन् क्यानम्
पल्लाघरे काकाले
मिटर ब्याजको भारी बोक्दा बोक्दै
बुटि र हिङ छोडेर हिँडेको पनि धेरै भो
अस्ति त पाटनमा झण्डै चट्याङले…

आ…
अब त गाम नै बिर्सिसके
उताका हरिया पहाड त सपनामा मात्र आउँछन् अब
के गर्ने मनै काला पहाड भएपछि…।

-मनिष प्रजा
मलेखु, धादिङ