ओ धरहरा
तिमी फेरि एक पटक ढलिदेऊ
तिमीसँगै ढाल्नु छ यहाँ
अहंकार र घमण्डको अर्को धरहरा

यहाँ
आकाश छुनलाई हिमाल छँदैछ
सहर हेर्नलाई भञ्ज्याँङ छँदैछ
माइती गाउँ हेर्नलाई देउराली छँदैछ
दुनियाँ हेर्नलाई स्वयम्भु छँदैछ
तिम्रो निर्जीव उचाइबाट देखिने भनेको
सिंहदरबारको त्यही अन्धो मान्छे मात्र होइन र ?
जो तिम्रो उचाइलाई आफ्नो उचाइ सम्झेर
अट्टहास गरिरहन्छ घरीघरी
र छाद्ने गर्छ अहंकारको अपाच्य बोलीहरु

विश्वरसिंह मेवाहाङ

थाह छ ?
तिम्रो काँध चढेपछि मान्छेहरु
सहरलाई भुइँमा देख्छन्
भुइँलाई धुलोमा देख्छन्
आफूलाई नै धरहरा सम्झेर मान्छेहरु
मान्छेलाई छातीमा टेकेर हिँड्छन
तिम्रो माथिल्लो बरण्डा पुगेर
अहंकारको चर्को बिगुल फुक्छन्
र उद्घोष गर्छन्
“मैले धरहरा बनाएर यो सहरको इज्जत बढाएँ”

साँच्चै मान्छेहरु धरहराको घुच्चुकमा टेकेर
मख्ख पर्दै हेर्छन सहरका कृत्रिम इज्जतहरु
देखिन्छ त्यहाँ एक होर्डिङ बोर्डमा अर्धनग्न युवती
पर ठमेलको एक बारमा नाचिरहेको अर्को युवती
उता सपिङ मलको दोकानमा झुण्डिएको मिनिस्कर्ट
यता पजेरोमा घुम्न निस्केको एक युगल प्रेमी
तर देखिन्न सुनधारामै माग्न बसेको भिखारी
रत्न पार्कमा पोलेको मकै बेच्ने ठेलावाला
पुरानो बसपार्कमा बेवारिसे एक हुल गाउँले
पर एयरपोर्टमा खाली खुट्टा हिाडिरहेको एक युवक

धरहरा !
तिम्रो पाइतालाले किचिएका जमिन हेर
देख्ने छौ त्यहाँ सहरका कयौं पीडाहरु
तिम्रो छायामा छलिएका सयौं वेदनाहरु
तिम्रो उचाइले यो सहरलाई ठूलो अन्याय गरेको छ
देखिनु पर्ने देखिदैन हेरिनु पर्ने हेरिदैन
अर्थात
तिम्रो उचाइले वास्तविक सहर देखिदैन
नक्कली सहर हेर्नलाई धरहारा चाहिदैन

म बिन्ती गर्छु
धरहरा तिमी फेरि ढलिदेऊ
तिमीसँगै ढाल्नु छ यहाँ
सहरका कृत्रिम दृश्यहरु
जसले मान्छेको मनलाई अदृश्य बनाइरहेछ

चिचिला – २ संखुवासभा