साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः कवितानामा श्रृङ्खला-२२, २३ र २४

Chovar Blues Mobile Size

कवितानामाः श्रृङ्खला कविता-२२

एउटा पुतलीको पखेटाको फड्फडले पनि
कहिले काही बदल्न सक्छ मौसम
हवाको गति र दिशा

जब जब संसारमा स्वाधिनताको निम्ति लडाईँको बिगुल बज्छ
अन्यायको विपक्षमा न्यायको आवाज चर्किन्छ
युद्धभूमि बन्छ दुनियाँ
धुलो उड्छ चारैतिर

म सम्झन्छु
असंख्य पुतलीहरुले पखेटा फड्फडाइरहेछ

मौसमले रुप फेरिरहेको
पूरा कति ।

कवितानामाः श्रृङ्खला कविता-२३

sagarmani mobile size
निर्मल आग्रह

एउटा अबोध नानीले जब
रोटी बेलिरहेको हुन्छ
उस्ले उबेला एउटा देशको नक्सा बनाउँदै गरेको हुन्छ
उस्ले उबेला विश्वको मानचित्र बनाउँदै गरेको हुन्छ

बिचरोलाई के थाह कि त्यो कुनै आकाश होइन
न त खुल्ला मैदान
तर गरम तावाको कालो सतह
ऊ कुनै चराले पंख फैलाए जस्तै गरि बेलेको रोटी
त्याप्प फैलाइदिन्छ ।

उस्लाई लाग्छ उबेला ऊ उड्दैछ ऊ खेल्दैछ

एउटा अबोध नानीले जब रोटी बेल्छ
त्यस्बेला उस्ले या त आफ्नु पेटको नक्सा बनाउँदै गरेको हुन्छ
या त भोकको विदीर्ण सारांश कोर्दै गरेको हुन्छ

यति मात्र नभएर
त्यसबेला उस्ले आफ्नू आठ बाई दसको कोठे घरभित्रको कुनै सुखको मीठो पलका लाइनहरु बनाइरहेको हुन्छ
उस्ले या त एक लगानी काम गर्न निक्लेकी आमा
जब बेलुकी घर फिर्छे
सदा झै हातमा लिएर आउने टफी मिठाइका
अनुहारको नक्सा कोरीरहेको हुन्छ

त्यसबेला लाग्छ ऊ हाँसीरहेछ
ऊ साँच्चै हाँसीरहेको हुन्छ त्यसबेला

एउटा अबोध नानीले जब रोटी बेल्दै गरेको हुन्छ
रोटीले जीवनको कस्तो विचित्रमय नक्सा कोर्छ
त्यस्बेला हेर्नु।

कवितानामाः श्रृङ्खला कविता-२४

यो सत्य हो मानिस मरेपछि उस्ले लगाउने जुत्ता पनि मर्छ या मरेतुल्य हुन्छ
र मरेको जुत्ताको अनुहार कहिले पनि याद गरिँदैन

जबसम्म जुत्ता खुट्टामा छन्
जुत्ताको मान मनितो हुन्छ जुत्ताको एउटा अलग्ग दाम हुन्छ टेक्नलाई सीढींहरु छन मञ्च छन र उभ्भिनलाई ठाउँ छ
जुन दिन खुट्टाहिन हुनेछ जुत्ता जुत्ता बेस्याहार हुनेछ घरको एक कुनामा थन्किनेछ र त्यही सडेर
जान्छ

यस्तै हाल पुरानो छाताको छ जबसम्म हवा पानीले छोप्दैन र चर्को घामले पोल्दैन यादै हुन्न छाताको

छाता र जुत्तामा यही फरक छ कि
भाँच्चेर फ्याकिएको छातासीत जीवनको कुनै मोल जोडिएको हुन्छ या हुँदैन
तर जुत्तासीत हुन्छ

के थाहा बाटो-घाटो खोलकिनार या खुल्ला चौरको कुनामा फ्याकिएको जुत्ताहरु
कसैले छोडेर गएका पो थिए कि
या धेरै हुनसक्छन जो घर फर्केनन्
आधा बाटामै गुमे तिनीहरु
या तिनीहरु यति धेरै थाकिसकेका थिए कि
जुत्ताको अतिरिक्त बोझ उठाउन नसक्दा जुत्ता नै छोडेर गए

कति कुराहरु हुनसक्छन् जब पुराना जुत्ताहरु देखिन्छ कतै तर सत्य यो पनि हो कि
खुट्टा बिनाको जुत्ता सधै मरेको बराबर हुन्छ ।

प्रतिक्रिया
Loading...