साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता: तेजस्वी मान्छेहरु

Chovar Blues Mobile Size
आकाश अधिकारी

रक्तिम उज्यालो घाम
पहाडको थुम्कोबाट
भकुण्डो झैं गुल्टदै गुल्टदै
ओरालो लागेपछि
चुक पोखिएको आभास हुन्छ
तब गाउँ बस्तीमा सन्नाठा छाउने गर्छ
कालो अध्यारो चकमन्न रात
कालो च्यादर ओढेर
काला सपनाका पारखीहरु
हर हमेसा बस्ती प्रवेश गर्छन्
सदियौं देखि लाटोकोसेरोका सन्ततिहरु
शिर छेदन् गरेका मुर्कट्टाहरु
किन सधैं
अध्यारोमा सक्रियता बढाउँछन ?

कालो रातको कर्कश आवाजले
स्तब्ध गाउँका झुपडीहरु
मृत्युको काखमा समर्पित भएर
समयका अस्थिर सूचक नियाल्दै
बर्षौ देखिको नियति भोगिरहेका छन्
केवल एउटा घामको अभावमा
उज्यालो बिहानीको प्रतीक्षामा
रोग भोक र दरिद्रताले थलिएका मान्छेहरू
ब्राह्मणका हजारौं लाखौं ताराहरु
निरीह छन् मौन छन् अनि चुपचाप छन
गर्भमा लुकेको जूनको पर्खाइमा छन
केही छन्द भेषी मान्छेहरू
धूप अंक्षेताको जोहो गर्दै
आफूलाई बडो सांस्कारीक सम्झेर
उन्मुक्तिको नारा फलाक्दै
केही अभिजात बर्गका धुर्त मान्छेहरु
हरेक याममा
किन रातभर जाग्राम बस्दैछ्न् ?

आजकल यस्तो लाग्दैछ
गाउँ बस्तीको चीत्कार सुनेर
आखामा आँसु अभाव भएझैं
रुन बिर्सेका नवजात शिशुको आँखामा
किन आगो दन्किदैछ ?
भोकाएकाहरुले भोजन बिर्सेर
किन बारुद ओकल्दै छन्
आङको एकसरो भोटो च्यातेर
सुसेल्दै मुक्तिका भाकाहरु
सूदुर क्षितिजको गन्तव्यमा
पैरवी पाइला लम्काई रहेकाछन्
उन्नत चेतका तेजस्वी मान्छेहरु !

आकाश अधिकारी तनहुँ। 

sagarmani mobile size
प्रतिक्रिया
Loading...