भानसिंह धामी

तिम्रो बोलीको दमले गम खाएपछि
हिमालले चुलिन छोड्यो
पहाडले हाँस्न छोड्यो
तराईले नाँच्न छोड्यो
जब तिम्रो मुटुले संघर्षको धडकन तोड्यो
जब तिम्रो दिमागले सात पुस्ताको लागि
यत्रतत्र जायजेथा जोड्यो
तब तिम्रो पसिनाले बाटो अन्तै मोड्यो
त्यसपछि लगातार
मेरो कलमबाट अक्षर र शब्द निस्किए
तिम्रो विरुद्ध आन्दोलन गर्न
जुलुस गर्न सडक र सदनमा
देश रक्षा गर्न
आफूले परोस् बरु मर्न
लोभ लालच फाल्न
फेरि एकपटक पढ “के गर्नु धनले” ?
त्यो मुनामदनमा ।

कान खोलेर सुन्नुस्
हजुरबा बा र काका नेताहरू
सत्तरी नाघेका पाका नेताहरू
तपाइँले सुन्नुभएको छैन
निर्धक्क भएर भन्न थालिसके
तपाइँका छोरा नातिहरू
ए ! डाका नेताहरू
अब त छाम्नुस् आफ्नै छातीभित्र
देश र भाषा छ कि छैन
भविष्यको आशा छ कि छैन
राष्ट्रगान र राष्ट्रज्ञान छ कि छैन
राष्ट्रध्यान र राष्ट्रविज्ञान छ कि छैन
संस्कृति भूगोल र इतिहास पढ्नुस
अनि निर्णय लिनुस्
छातीभित्र स्वाभिमान छ कि छैन ।

आँखा खोलेर हेर्नुस् पर परसम्म
गाउँदेखि सहरसम्म
हरेक घर घरसम्म
पानी हेर्नुस्
माटो हेर्नुस्
बस्ती बस्ती जोड्ने बाटो हेर्नुस्
सुकिला मुकिला हेर्नु पर्दैन तिमीले
मैलाधैलाको लुगाफाटो हेर्नुस्
त्यसपछि म छाम्न आउँदैछु
तिम्रो लालचलाई डाम्न आउँदैछु
यथार्थमा सोच्न बाध्य बनाउन घोच्न आउँदैछु
र सदाको लागि खोज्न आउँदैछु
खै खै नेपाल मुटुभित्र ।

भान सिंह धामी
सिगास -२, बैतडी