टंक पन्थ

लेख्छन् गाथा सुनौला सकल समयको सभ्यता गाल्न थाल्छन्
चम्केका भानु जो छन् अटल सगरमा चेतना दीप बाल्छन्
नेपालीका गलामा सुललित रसिला गुञ्जिने काव्यवाणी
सुन्ना साथै पगाल्ने विषय गहकिला दिव्य लाग्छन् कहानी ।।

लेख्यौ गायौ उठायौ प्रखर कदममा लम्किने भाव राख्यौ
ढोका खोल्यौ सबेरै अगम गगनमा चम्किने भाव राख्यौ
आस्था गायौ नथाकी सरगम सुरका नादमा गुन्गुनायौ
नेपाली प्राण भर्दै विकल हृदयका आँत यी सुम्सुमायौ ।।

हाम्रो भाषा निखारी सविनय पनले शिल्पमा गाल्न थाल्यौ
राम्रा भाका जगाई कलकल सरिता छालमा ढाल्न थाल्यौ
आस्थाले काव्य लेख्यौ अविचलित बनी रामको कीर्ति गायौ
आत्माको मुक्ति देख्यौ अलमल नगरी ज्ञानमा प्रीति लायौ ।।

भाका भर्छन् कुँदेरै अनुपम लयका छन्द हुन् भानु जानौं
बास्ना छर्छन् मजाले मृदुल महकिला गन्ध हुन् भानु जानौं
थोपा थोपा जमेका सजल घट घडा टन्न हुन् भानु जानौं
कावा खाँदै झरेका झरझर झरना झन्न हुन् भानु जानौँ ।।

नेपाली भावनामा अतिशय कसिलो भानुको विम्ब बोल्छ
लट्ठै पार्दा गलाले प्रमुदित मनमा गर्विलो काव्य घोल्छ
मेची काली जगाई चरम विषम त्यो भावना जोड्न आयौ
नेपाली ताल ल्यायौ सहज किसिमले साधना मोड्न आयौ ।।

छन्दः स्रग्धरा