बालकृष्ण गजुरेल

आफैँबाट सुरु गर्नुपर्छ
परिवर्तन तथा क्रान्तिहरु
बचाउनु पर्दछ पीडितलाई

न मार्नेले बचाउँछ कोही
न भत्काउनेले बनाउँछ केही

शब्दले कविता बन्छ
गीत तथा कथा बन्छ
कहनीहरु बन्न सक्छन्
मन‍ोरञ्जनका लागि
सिनेमा बन्न सक्छन्

न देश बन्छ आफैँ
न सहज जीवन यापन हुन्छ
न परिवर्तन हुन्छ बोल्दैमा

महंगी दर एक पटक नियाल्नुस्
घाँटी अठ्याइसक्यो जनताको
भोकमारी लाग्न सक्छ भविष्यमा

परिवर्तन नै गर्ने हो भने
हर्क साम्पाङ्ग बन्नुहोस्
आफैँ खट्नुहोस् समाजमा
काँधमा काँध मिलाएर

छर छिमेक परिवर्तन गर्नुहोस्
गाउँ टोल परिवर्तन गर्नुस्

तपाइँको लागि भन्ने हो भने
समाज धेरै माथिको विषय पर्यो
देशको विषय पछि कुरा गरौँला

भुक्न त कुकुर वफदारी भएर भुक्छ
आवस्यक तथा सिमित मात्र भुक्छ

चिच्याउँदैमा या कराउँदैमा
एक्कासी प्रगति हुने भए
स्यालहरु कराउँदा हुन्थ्यो
कुकुरहरु भुक्दा हुन्थ्यो
परजीविहरुले चुस्दा हुन्थ्यो
गिद्धहरुले लुछ्दा हुन्थ्यो
अफसोच ! तर भएनन्

जनताको जीवन उकास्न नसक्नेहरु
जनताको जीवन सहज नबनाउनेहरु
अति भो नरट फेरि क्रान्तिका बिषयहरु
पदचाप सम्हाल्ने हिम्मत छैन तिमीसँग

शुभकामना छ हृदय देखि
तिम्रा कामहरुले वास्तविकता बोलुन्
तिम्रा आस्थाहरुले वास्तविकता बोलुन्

स्वरहरु देखि जनतालाई एलर्जी छ
बदनियत बाट जनता थकित छन्

सुन्न चाहँदैनन् कोही नौटंकी
सुन्न चाहँदैनन् बनावटी कहानी
गर्न सक्छौ भने आफैँ गरेर देखाऊ
देशको लागि हो भने मरेर देखाऊ

हेलम्बु-६, सिन्धुपाल्चोक