गंगा भण्डारी

यार्माउथ सामुद्रिक तटमा
टहलिँदा टहलिँदै
अचानक दश फुट अग्लो पानीको छाल जुरुक्क उठेर
बनेको
नव निर्मित स्फटिक घुम्टोले
मेरा सर्वाङ्ग छोपिदा
मन र मस्तिस्कले
अनायास मेरो भौतिक शरीरलाई चटक्क छोडेर
भौतारिदै सामुद्रिक छालमा डुबुल्किने निर्णय गरेर
फुत्त शरीरबाट अलग्गिन्छ

पानीका छालहरूमा छलाङ मार्दै
पानी कै संसारमा बुकुर्सी मार्छ
मानौ
ऊ पनि जल माराथुनको धावक सदस्यहरू मध्ये एउटा
गर्भिलो प्रतिस्पर्दी हो
दौडिदा दौडिदै
सात सामुद्रिक धावनमार्ग पुरा गरेर
एकाएक
ऊ ताण्डव नृत्य नाच्दा नाच्दा थाकेर सिथिल भएको कोशी नदीको किनारमा थचारिन्छ

टोलाउँछ
बीभत्स द्रिश्यावलोकन गर्दै
झस्किन्छ
बर्बराउँछ
यो केको राइदाई हो ? कस्तो अचम्म यो ?
यो पनि पानी त्यो पनि पानी
त्यो संसारलाई समेटेको विशाल समुद्र कति सहनशील छ
थर्थरी काँम्छ
बस्ती भित्र पस्न आँट गर्दैन कसैलाई निमोठ्न
तर यहाँको पानी
कसरी यतिसारो उदण्ड भएको होला ?
यति धेरै रिसाउनुको कारण के होला ?
बर्षै पिच्छे बौलाउँछ
बस्ती पाखा जंगल सबै निमोठ्छ
तहस नहस पार्छ
लछार्छ पछार्छ
अनि सजीवलाई निर्जीव हुन वाध्य वनाउछ

निर्लज्ज मुस्कुराउँदै आनन्दले विश्राम गर्छ
ईश्वर !
तिमीलाई त थाहा छ होला नि हैन !
बताउन कहाँबाट आउँछ कोशीमा
त्यो आसुरी शक्ति ?
किन

कसरी बन्न सक्छ त्यति धेरै निर्दयी त्यो पवित्र कौशिकी ?
कसरी निमोठ्न सक्छ
त्यो श्रमिकको पसिना र उर्जाशील जीवन
के साँच्चिकै कोशी विना कारण रिसाउने बैमानी हो त ?
कि
उसलाई बाध्य पारिन्छ रिसाउन ?
हजारौँ प्रश्नको प्रहारले
घायल भएर मुर्छित हुदै गुन्गुनाउँन थाल्छ मेरो मन
एउटा प्रचलित गीतका
हरफहरू
“खोलिदेऊ नचाहिने ढोका स्वदेसी यो कुरा बुझौँन”
अनि
स्वाधिनताको स्वाङलाई स्वस्फूर्त स्वीकर्दै
परिश्रमीका जीर्ण पाइलाहरूलाई पछ्याउँदै
न्यायालयको ढोका ढक्ढक्याउँछ
योजनाका खाका कोट्याउछ

प्रश्न माथी प्रश्न गर्दै
सिथिल हुन्छ छटपटिन्छ
र भन्छ
यो निचोरिएको स्वाधिनतामा कैले सम्म मर्नु पर्ने होला
निर्दोशले ?
के यी नदीहरूलाई खुसी बनाउने कुनै उपाय नै छैन त ?
योजना
रियोजना
निरिक्षण
परिक्षण
यी शब्दहरूको पनि त शाब्दिक अर्थ होला नि हैन र ?
भौतिक संरचनाको अध्यायन गर्न मिल्दैन र !
पूर्व सावधानीको योजना गर्न मिल्दैन र !
ए नेता जी !
धेरै ढिलो नगरौँ आरती उतार्न परे पनि
बौदिक क्षमताको उपयोग गरे पनि
समयमै गरौँ
नत्र फेरि
करोडौँ जीवले निर्जीव हुन पर्नेछ
हजोरौँ बस्तिले उजाडिनु पर्नेछ
अनि
बाँच्नेले स्वास फेर्नकोलागी तिम्रै याचना र आराधनामा लीन हुनुपर्नेछ।।
***समाप्त***गंगा भण्डारी, स्वूनडन, बेलायत