आँधी छ उठिरहेको
तुफान नाचिरहेको छ
कंपित छ जीवन डुङ्गा
जलनिधी गर्जिरहेको छ
अहो ! यो विषम घडी
यही हो परीक्षा घडी ।
कति साम्राज्य उठे, ढले
इतिहास साक्षी छ
हुर्कँदै गरेको भविष्य हामी
उठ्नै बाँकी छ
ढृढ बन नीज यात्रामा
नजाऊ है लडि
यहि हो परिक्षा घडी ।
उत्साह र जाँगर भर
यी दुई करमा
उत्सुकता र उल्लास भर
रहस्यमयी उरमा
खोजको यो टुसा कोमल
नजाओस् है सडी
यही यो परीक्षा घडी ।
मोती नै यहाँ हात लाग्ला
केही छैन निश्चित
जान सक्छ व्यर्थ परिश्रम
के पो छ नियत
द्वार द्वार चहार्नु पर्छ
बरू खिइओस् है हड्डी
यहि हो परीक्षा घडी ।
केही दिन्छ सौगातमा
केही लिन्छ जिन्दगी
लिने दिने क्रम चलिरहन्छ
अनाशक्त सौभागी
जिन्दगी कुनै सौदा होइन
न घटी न बडी
यहि हो परीक्षा घडी ।
न गुमाई सबथोक यहाँ, कसले
पायो र जिन्दगी
दाउ यहाँ प्राणै लाग्छ
श्वास लाग्छ बन्दगी
कि त्यसै तिमी मर्छौ सडी ?
यही हो परीक्षा घडी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

