साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः लाटो साथी

Chovar Blues Mobile Size

भाषीक आन्दोलनहरूमा भेटीएका
लाटो साथीले युगौँ व्याकरणमा बिताए
उत्तेजक समयहरू
आफ्नै यात्रामा रमाइरहे
बलेनी सुख्खा पार्दै
भाषाका बीजहरू छर्दै
उनी रमाइरहे संस्कृत र अवधीमा
कपिल निवासमा
पित्त थैलीको क्यानसरबाट
सदाका लागि सुतिरहँदा

वैरागी जेठा

शासक प्रशासक कुनै बोलेनन्
शुभेच्छुक वरिपरि बसिरहेका
शून्य भीमशेन गोला
गणेशचोक खिन्न थिए
एउटा भाषा सेबी
पाणिनी भक्त बाँचेन
कपिलधामको वागमा
चर्चित विद्वान्हरूका शालिक निमार्ण गर्दागर्दै
उनी सदाका लागी ढले
राज्यले कुनै आँखाले हेर्दै हेरेन उनलाई
हाम्रा लागी दुःखान्त हो
समयको संर्किण सोच
प्रजातन्त्रका सन्तानहरूले बुझ्दै बुझेनन्
भाषाका जीवनहरू
नेताले न बुझ्यो भाषा न तिनका कार्यकर्ताहरूले
बारम्बार भाषामाथि आक्रमण
सहनु कसरी अहो ?
लाटो साथीलाई
न नेताले नै पढे न तिनका कार्यकर्ताले पढ्ने छन्
हेर्छु सुन्छु आफैँ लज्जित भएर
रुद्राक्षका मुना हेर्छु मन समाल्छु
बाइसधारा छामेर
लाटो साथी ब्यूँझन भनिरहेछु
चिन्तनमा
टुल्के दाइको खँलातीले पोलिरहेछ
आदर्शका धारहरू
संस्कृत व्याकरणमा गुञ्जिएका
मेरो लाटो साथी
भाषाका टाकुराहरू चढीरहे थे
विशाल रूपमा चर्चा हुनुपर्थ्यो
त्यसरी भएका छैनन्

पुश्किनबाट निकै प्रभावीत युवक
उनको संग्राहालय बनाउन आतुर छु
मेरो पहिलो प्रस्ताव हो
सधैँजसो अँधेरी रात लाग्छ
हिजो आज
सैद्धान्तिक रूपले कुरा नमिले पनि
मृत भनिएको भाषाले छोइरह्यो
लाटो साथीलाई
घरपरिवारमा बोलिरहे
संस्कृत भाषा
तिन दशक देखि चिनजान भएको हो
उनले मेरो अनुहार हेरेर
मेरो परिक्षा लिइरहन्थे
बाटुले घरबाट पुतली सडक झरिरहँदा
चड्किएर भने हेर आफूलाई ख्याल गर
तैँले दुःख पाउँछस्
सावधानिक ढङ्गले हाँसेर उडाइदिएँ
दुःखको कुरा
उनलाई सम्झेर
कैल्ये रुन्छु हाँस्छु
अनि यात्रामा निस्कन्छु
उनले भने झैँ
वर्तमान युग त्यस्तै त्यस्तै छ
अध्ययन र भोग गरिरहेको समय देखेर
उनका कुरा राम्रा लागिरहेछन्
उनी भन्थे
मान्छेले प्रयोग गर्लान्
दुःख देलान्
तँले सोचे जस्तो समाज छैन
पटक पटक भनिरहन्थे
लाटो साथी ।

प्रतिक्रिया
Loading...