एकटक हेरिरहेको थिएँ धेरैबेरसम्म
पानीमाथि उत्रिरहेको
पुङ्गोरूपी मेरो फुइलाई
पोखरीको डिलैमा बसी ।
यत्रोबेर सुतिरहेको थियो ऊ
पानीमाथि नै,
तर हठात् डुब्न र उत्रिन लाग्यो
पानीभित्र र बाहिर ।
मन फुङ्ग उड्यो
आत्मविभोर भएँ म
दिनभरि कुरेको ज्याला पाउने आशामा ।
सतर्क भई
ह्वात्त उठाएँ अकासतिर
मेरो बल्छीको टाँगो ।
भट्याक् भट्याक् गरिरहेछ
एउटा कालो माछो
बल्छीमा उनिएर
मुक्त अकासमा ।
तर यो के देख्नु पऱ्यो ?
ऊ त बन्दी पो रहेछ
एक पारदर्शी प्लास्टिकभित्र !
छेउमा ल्याई नियाली हेरेँ ।
भित्रिएको थियो होला ऊ
कुनै छिद्राबाट
डुल्दै घुम्दै तैरदै जाँदा
तर पत्रैपत्रबिच अल्झेछ
बाहिर निस्कनै नसक्ने गरी ।
कुन स्वार्थी मनुक्खेले
मिल्काएको थियो होला यो प्लास्टिकलाई पोखरीमा ?
या त
बग्दै आएको होला अन्तैबाट ?
कचिया लिई
उद्यत भएँ म
प्लास्टिक काटी माछा मुक्त पार्न ।
ऊ बिचरा !
निर्निमेष मलाई नै हेरिरहेछ
स्वतन्त्र हुने करुण आशामा ।
अन्योलमा ठिङ्ग उभिरहेँ म
हातमा कचिया लिई
भान्छाघरतिर लाग्नु कि पोखरीतिर ?
निर्णय लिएँ मैले
बल्छीले माछा मार्ने छैन अबदेखि म
बरू प्लास्टिक नै मार्ने छु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।