प्रदीप नेपाल

ती चन्द्रिकाका स्मृति चम्किएझैँ
उषा उदाइन् क्षिति गम्किएझैँ ।
आएर प्यारी जब बोल्न थाल्छिन्
निःशब्दता त्यो तब तोड्न थाल्छिन् ।।१।।

यी अश्रुका फाँटहरू उदाए
ती नेत्र सानन्द समीप आए ।
सारा धरा हर्ष विभोर हुन्छिन्
र प्रेमको शाश्वत मार्ग छुन्छिन् ।।२।।

यो प्रेमको सिञ्चनका निमित्त
हुँदैछ आकाश सबै सिनित्त ।
नगड्गडाई सरिता बहन्छिन्
सङ्गीतको गायनमा रहन्छिन् ।।३।।

घन्किन्छ सारा नभ त्यो सुनौलो
वहन्छ हावा पनि साथ नौलो ।
वर्षिन्छ किञ्चित् जल क्या सुसेली
सुन्दैछु वाणी मुटुकी सहेली ! ।।४।।

सुनेर तिम्रा मधुमिष्ट बोली
साँचेर माया मुटुभित्र घोली ।
न रित्तिनेछु न त पूर्ण हुन्छु
सदैव तिम्रा मृदु गान गुन्छु ।।५।।

हे प्राण ! यस्तो मनमा हुँदैछ
त्यो प्रेम मेरो मुटुले छुँदैछ ।
यी काव्य तिम्रै दिलले कहेका
यी कल्पनाका रङमा बहेका ।।६।।