गोपाल खनाल

छाडेर गएको हो
नदीले बगरका ढुङ्गाहरु मीठो चुम्मन दिएर
नदी कहिले फर्केन
न उडेर गएको चरी
गुँड सम्झेर फर्किएको छ कहीँ कतै
सायद छाडेर जानेहरु फर्कदैनन्
फर्कने मन गर्दैनन् या
फर्कन भुल्छन् ।

परदेशीएको छोरो नफर्केको
वर्षौं भयो
उसका यादहरु मात्र फर्किए
आमा
त्रिशूली हेरेर चित्त बुझाउन विवश छिन्
पत्नी
बाटो हेरेर टोलाउँछिन्
सोच्छिन् यही बाटो हुँदै गएकाहरु पनि त
कोही फर्केनन्
छाडेर जानेहरु
फर्कने मन गर्दैनन् या
फर्कन भुल्छन् ।

कोही कहिल्यै फर्कन्नन्
कोही थोरै खुसी र धेरै
पीडा दिएर फर्कन्छन्
मैले देखेका
कयौं गइसके कोही जाँदै छन्
याद पठाउँछन्
थाहा छ कोही फर्कदैनन्
हामी सबै जानु छ नफर्कने बाटो
गुनासो छैन अब कसैसँग
गुनासो छ आफैलाई चिन्न नसकेकामा
समयसँग हिँड्न नसकेकामा ।

छिट्टै फर्कन्छु भन्नेहरु पनि फर्केनन्
नभनी सुटुक्क जानेहरु पनि कोही फर्केनन्
उतैको सुन्दरतामा रमेर फर्केनन्
या दही झै जमेर फर्केनन्
दही पुनः कहाँ दुधमा फर्कन सक्छ
न सक्छ खरानी भर्रभराउँदो कोइलामा फर्कन
तिमी पनि हिजो नफर्किए जस्तै
फर्किन्नौ थाहा छ
तर
मन फर्कने आश मार्न सक्दैन
आँखाहरु प्रतीक्षामा ओच्छिन छाड्दैनन्
सायद सांसारिक भ्रममा अभिसप्त
भइसकेका छौं हामी ।

पढेँ प्रतीक्षाको फल मीठो हुन्छ
भोगेँ प्रतीक्षाको फल सबै फलदाय बन्दैनन्
समय
एकातिर धैर्यको पाठ पढाउँछ
अर्कातिर जीवन क्षणिक छ छिटो गर भन्छ
म दुविधामा छु
सायद तिमी सुविधामा छौ
अघि बढेका बाटाहरु नफर्के जस्तै
चोटका खाटाहरु पूर्ववत नफर्के जस्तै
छोडेर जानेहरु फर्कदैनन्
फर्कने मन गर्दैनन् या
फर्कन भुल्छन् ।

दाङसिङ नुवाकोट हाल पाेखरा-१०