गिज्याइहेछन् शहिदगेटका सालिकहरुले
आजको ज.ब.ज का पहरेदारहरुलाई
पृथ्वीचोकको सालिकले ठड्याएको औंला देखेका छौ ?
अनि सिंहदरबारको कुर्सीमा बस्ने सालिकको हात नि ?
देख्यौ ?
समयले यो हात भन्दा
त्यो औंला बलियो निकाल्यो
अनि
गिज्याइरहेछ तिम्रा गणहरुका तन्त्रलाई फेरि
एक सालिकले
एक सिङ्गो कथा बोकेको हुन्छ
इतिहास बोकेको हुन्छ
सन्देश बोकेको हुन्छ
एउटा सिङ्गो युग बोकेको हुन्छ
निशन्देह बनाइनुपर्छ युगिन पात्रहरुका सालिकहरु
कुँदिनुपर्छ पत्थरहरुमा फूल बोकेर हिँडेका अक्षरहरु
देख्नुपर्छ भविष्यले पनि यो बर्तमानका कथा र व्यथाहरु
लेखिनुपर्छ इतिहास विभिन्न सालिकहरुमा नमेटिने गरी
जन्माओस् एक विद्रोह भविष्यमा
सम्भावित दलालहरुकै माझ
देखाओस् एउटा सुनौलो यात्रा
उल्झनहरुको माझ
अझै चित्त नबुझे
बि पि चोकको सालिक हेर
हेर एकपटक दासढुङ्गाको सालिक
र प्रश्न गर त्यो इतिहास हेरेर यो बर्तमानलाई
त्यो सालिकले गरिरहेको प्रश्न
त्यो इतिहासले गरिरहेको प्रश्न
वर्तमानले दिने उत्तरहरुमाझ
तिमीले सालिकको अर्थ भेट्ने छौ
सालिक एक व्यक्ति हुन सक्तैन
सालिक न कुनै नाम हुनसक्छ
सालिक एक इतिहास हो
सालिक एक भविष्य हो
सालिक एक प्रश्न हो
सालिक एक उत्तर हो
सालिक एक सिङ्गो युग हो
एउटा प्रश्न सोधूँ ?
के ऊ युगिन पात्र हो ?
हो भने
बनोस् अर्को एउटा इतिहासको सालिक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।