साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता: बाको अर्ती

Chovar Blues Mobile Size
महेन्द्र रावल

देशमा दिनहु जसो घटिरहने
अपत्यारिला घटना सुनेर
जीवन भोगाइका अनेकौ
कठिन परिस्थिति बुनेर
दिनभरी बाँझो जमिन जोतेर
लखतरान्न परेका मेरा बाले
अनुहारमा पश्चातापको भाव ल्याउँदै
लामो सास फेरेर भने
छोरा तैले जीवनमा
जमिन नजोत्नु अरुका रङ्गिन जीवन जोत्नु
किनभने यसबाट छोटो समयमा
धेरै लाभ मिल्छ
मकै र मकैजस्ता सस्ता सामान नबेच्नु
देश बेच्नु
देशको भेष बेच्नु
चेलीवेटी बेच्नु
देशका सन्धि र सम्पदा बेच्नु
देशको सार्वभौमसत्ता र स्वतन्त्रा बेच्नु
सीमा सीता र भृकुटी बेच्नु
किनभने यी सबैभन्दा सजिला र
सबैले मान्ने र जान्ने व्यापार हुन्
छोरा म मेरो लामो अनुभवले भन्दै छु
यदि व्यापारै गर्नु छ भने
मन र भावना बेच्ने
बुद्व र बुद्वत्व बेच्ने
शान्ति र सतीत्व बेच्ने व्यापार गर्नु
किनभने यो नै यो देशमा गर्न सकिने
सजिलो अनि मुनाफाको व्यापार हो
यदि तैले मेरो अर्ति मानिनस् भने
यहाँका मूर्खहरुलेझै गर्न जानिनस् भने
तैले कहिल्यै पनि
मान सम्मान र सम्पति पाउने छैनस्
लङ्गडाको देशमा गएपछि लङ्गडो हुनुपर्छ रे
त्यसैले तैले अब आफूलाई यही देश
अनुकुल बनाउनु पर्छ
चोर्नु ढाँट्नु र छ्ल्नुपर्छ
अब तैले पनि कुटिल हुन जान्नु पर्छ
होइन भने तेरो खैरियत छैन
छोरा कि जान्नु कि भनेको मान्नु भन्छन्
तँ त्यसै गर छोरा
कि देशलाई हेरेर जान
कि मैले भनेको मान
मैले त केही गर्न सकिन अब तैले गर्नुपर्छ
मेरा बाजेले बनाइदिएको घरको
चुहिने छानो अब तैले टाल्न पर्छ
मैले सुखले पाल्न नसकेको परिवार
अब तैले सुखले पाल्न पर्छ
छोरा अब तैले हामीले भनेको मान्नै पर्छ !

प्रतिक्रिया
Loading...