एक साँझ अकारण उसले भनिदियो एकाएक
ऊ ब्रेक-अप चाहन्छ हाम्रो सम्बन्धमा
थिएन विकल्प उसको चाह स्विकार्नुको
तर उद्वेलित बनेकी थिएँ म र आक्रोसित थिएँ उसँग
बस् त्यो साँझ पश्चात् सधैँलाई ऊ
केवल मेरो एक पूर्व प्रेमी बनेको थियो
ठानेँ प्रेममा केही सर्तहरु हुँदा रहेछन्
मानेँ प्रेममा धेरथोर अपेक्षाहरु हुँदा रहेछन्
भोगेँ प्रेममा सम्झौता हुँदो रहेछ
स्विकारेँ प्रेममा आशक्ति हुँदो रहेछ
ऊ सँग छुट्टिएपछिका वर्षहरुमा
यसरी नै निर्माण भयो मेरो प्रेमको परिभाषा र यसको परिधी
एक बिहान घरको सिढीँमा बसेर
घृणाभावले सम्झिरहेथेँ उही मेरो पूर्व प्रेमी
अचानक तिमी आयौ मेरो आँगनमा एक अजनबी बनेर
साधारण भेषमा थियौ तर लाग्थ्यो
वर्षौँ देखि गहिरो साधनमा लीन एक साधक हौ तिमी
न तिमीलाई भेटेकी थिएँ कहिल्यै न त देखेकी नै थिएँ
तर लागिरहेछ मानौँ तिमी मेरो मन पढिरहेछौ
मुस्कुराउँदै बोल्यौ तिमी प्रेम निसर्त हुन्छ
मैले झर्को मानेर जवाफ फर्काइदिएँ तिमी पाखण्ड रहेछौ
तिमी शान्त थियौ फेरि थप्यौ प्रेम अपेक्षा रहित हुन्छ
अधैर्य बनेर बोलेँ म तिमी ढोगी रहेछौ
तिमीले थप्यौ न प्रेममा सम्झौता हुन्छ न त सम्झौतामा प्रेम नै
म रिसको भावमा बोलेँ तिमी अव्यवहारिक रहेछौ
उस्तै थियो तिम्रो भावभंगीमा थप्यौ आशक्तिमा प्रेम फक्रिन सक्दैन
म आवेगमा बोलेँ तिमी खोक्रो आदर्शवादी रहेछौ
अहँ तिम्रो अनुहारको कान्ति कदापि घटेको थिएन
एकटकले हेरिरह्यौ र मुस्कुराइरह्यौ
म रिसाएँ तिम्रो मुस्कान देखेर
म अशान्त भएँ तिमीमा घना शान्ति देखेर
म अधिर बनेँ तिम्रो धैर्यता देखेर
म बोलिरहेँ तिम्रो मौनता देखेर
तर केही क्षणमै मुर्छाबाट ब्यूँझेजस्तै भएकी थिएँ म
मानौ मैन हुँ म र आफू नजलिकनै तिम्रो उज्यालो देखेरै पग्लिरहेछु
मानौ तिमी नै हौ मेरो गुरु र मेरो नयाँ प्रेमी पनि
शान्त बनेँ म र चिम्लेँ दुबै आँखाहरु
लाग्यो तिमी यस्तो बेला आइदियौ जुनबेला
न म तिमीमा गुरु मानेर समर्पित हुन सक्छु
न त प्रेमी ठानेर तिम्रो आलिङ्गनमा बाँधिन सक्छु
खुले जब मेरा आँखाहरु अलप भैसकेछौ तिमी
मानौ झिसमिसे बिहानमा देखिएको तारा हौ तिमी
मलाई बिहानीको उज्यालो छोडेर आफू आकाशमै हरायौ
लाग्छ अब जिन्दगीको अन्धकारमा मात्र भेटिनेछौ फेरि
तर जाँदै गर्दा तिमीले प्रेम सिकायौ मलाई
लागिरहेछ म मेरो पूर्व प्रेमीलाई निसर्त प्रेम गरिरहनेछु सधैँ
अझ खासमा यो बुझेकी छु मैले कि
न त प्रेमी पूर्व हुन्छ न त प्रेममा घृणा नै हुन्छ
उसप्रतिका पूर्वाग्रहरु आफैँलाई बालसुलभ लागिरहेछन्
छैनन् अब कुनै अपेक्षाहरु न त कुनै आशक्ति नै
गौण हुनेछ मेरा लागी अब म उसँग हुनु या नहुनु
बिछोडको घाउले न पोल्नेछ मलाई न त चहर्याउने नै छ
अनुभूत गरेकी छु आज खासमा मैले मेरो पूर्व प्रेमीलाई
न कहिल्यै प्रेम गरेकी रहेछु न त घृणा नै
आफैँ अचम्चित छु आफ्नै अनुभूतिसँग आज
यो ज्ञान पाएर कि जुनबेला म उसँगको प्रेममा थिएँ
मैले त मेरो ऊप्रतिको आफ्नै विचारलाई मात्र पो प्रेम गरिरहेकी रहेछु
अनि जबदेखि छुट्यो ऊसँगको साथ
मैले त मेरो ऊप्रतिको आफ्नै विचारलाई पो घृणा गरिरहेकी रहेछु
तर अनुभूत गरेँ आज प्रेम छुटेपछिको प्रेम र थाहा पाएँ
विचार बाट पार पाएपछि पो बल्ल शुरु हुँदो रहेछ प्रेम।
[डा. आचार्य हाल अमेरिकाको कनेक्टिकट राज्यस्थित सेन्ट्रल कनेक्टिकट स्टेट यूनिभर्सिटीमा सह-प्राध्यापकको रुपमा कार्यरत छन्।]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।