घाम घाम जस्तो नलागेको पनि धेरै भयो
घाम घाम जस्तो नभएर अरु केही जस्तो लागेको पनि धेरै भयो ।
यो घाम रातो जस्तो मात्र छ तातो छैन
यो घाम आगो जस्तो मात्र छ पोल्दै पोल्दैन ।
घाम घाम जस्तो नभएदेखि
काखिहरु बजिरहन्छ प्याट प्याट प्याट
काखिहरु गन्हाई रहन्छ ।
एक मुटु न्यानो नपाएर ओठहरु कक्रिसके
एक मुटु न्यानो नपाएर आँखाहरु लोलाइसके
एक मुटु न्यानो नपाएर आङ सिकुडी सके
एक मुटु न्यानो नपाएर छातीहरु काँप्न लागिसके
अब रगत जम्न मात्र बाँकी छ
अब प्राण पनि अल्झिसके ।
घाम घाम जस्तो लाग्न छोडेदेखिन हो
काखिहरु बजिरहन्छन्
काखि गन्हाईरहन्छ ।
फलत दुर्गन्ध फैलिरहेछ
दुर्गन्ध बढिरहेछ ।
यो घाम घाम जस्तो नालागेर पनि हो
यहाँ अहिले उज्यालो र अँध्यारोको केही फरक छैन ।
घाम घाम जस्तो नरहेपछि अब केही पनि केही जस्तो छैन
न जिन्दगी जिन्दगी जस्तो
न मृत्यु मृत्यु जस्तो ।
दुईटै आधा-आधा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला