साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रयत्न

गायत्री

गायत्री

जीवनको यो मध्य सङ्घारमा
उभिएर नियाल्दा
बिराएझैँ त्यो मार्ग, बिर्सिएझैँ,
हराएझैँ केही कुरा
सधैँ तलासमा यो मन भौँतारिरहँदा
भेउ नै पाउन नसकेको
त्यो अमूल्य समयको बर्बादीले
कति पोलिरहेको छ भनी,

गर्ने के कसो हो ?
सधैँ एउटा कौतुहलले सृजना गरिरहने भ्रमलाई चिर्दै निकाल्नुछ एउटा गन्तव्यको धुन
अनि बजाउनु छ एउटा तालमा ।

bahulako diary small and inside post

गुन्जियोस् सुरिलो धुन र मुग्ध होस् यो जीवन
बलोस् दियो चैतन्यको
फैलाई प्रकाश वरिपरि
चिरेर पर्दा त्यो कालो ओडारको
फैलियोस् दीप जताततै
र बसाइ सरुन् त्यो अन्योलताका अन्धमुष्टिहरु

शून्यताको खडेरीले रुखाएको
यो मनको आँत पुरै चिस्याउनु छ अनि
वर्षौंदेखिका बाँझो यो जिन्दगीका सुर्काहरुमा
दस नङ्ग्रा नारी
मलिनो बनाई बाधाका पत्थरहरुलाई,
रोप्नुछ सपना बिउहरु अनि
गोड्मेल गरी फाल्नुछ रिस राग कुन्ठाका झारहरु
र, गर्नुछ सिँचाइ पसिनाले
सप्राउनुछ ती सपनाहरुलाई
जुन मूर्तरुप पाउनको निम्ति
मनभित्र गुम्सिएर
उकुसमुकुसतामा छट्पटाउँदै
निस्किएर संसार चिहाउने झिनो आशमा
चलाइरहेका छन् ढुकढुकी ।

हो, तल्लिन छु म अझै
साँघुरो मनलाई तन्काउन अनि,
प्रश्रय दिई ऊर्जा उमङ्गलाई
बढारी सबै धमिला कसिङ्गरहरु
सडाई गलाई बनाएको मलले
सप्राउनुछ सपनाका बिउहरु
र, दिनुछ फक्रन यो खुला आकाशमा

हारेको छैन म भित्रको “म”
अझै बिउँझिने कसरतमा
समर्पित यो जीवन
सधैँ तल्लिन छ, अथक निरन्तरताको लागि
एकदिन अवश्य झुल्किने दीपको आशामा ।

प्रतिक्रिया
Loading...