ज्योतिकृष्ण वर्माः
दिल्ली निवासी ज्योतिकृष्ण वर्मा हिन्दी साहित्यका एकजना परिचित कवि हुन्। उनका दुई काव्यकृतिहरू- ‘खुले आकाश में’ अनि ‘मीठे पानी की मटकियाँ’ प्रकाशित छन्। उनका कविता, कथा तथा लेखहरू वागर्थ, नया ज्ञानोदय, समकालीन भारतीय साहित्य, परिकथा, आजकल, अक्षर पर्व, विभोम स्वर, सृजन कुंज, दोआबा, कविकुंभ दस्तावेज़, युद्धरत आम आदमी, साक्षात्कार, अलाव, कथन, नंदन, नवभारत टाइम्स, हिंदुस्तान टाइम्स तथा अन्य पत्र-पत्रिकाहरूमा प्रकाशित छन्|
===========
१. पृथ्वी
संसारको
सबैभन्दा छोटो
कविता
लेख्नु हो
भने
लेखिनु पर्छ-
पृथ्वी।
*******
२. रूख
रुखले
बिन्ती बिसाएको छ
कागज बन्नलाई।
जान चाहान्छ उ
कुनै कविको घरमा
चराहरू जसलाई
शिकारीहरूले मारेका छन्
उनीहरू बारे
जान्न चाहान्छ
कविसित।
********
३. तिम्रो प्रतीक्षा
आकासले
चम्कने बिजुलीहरूद्वारा
लेख्ने गर्छ
बादलमा
कविताहरू।
एउटी उदास प्रेमिकाकी
आँखाहरूबाट बग्ने गर्छ
आँसु
वर्षाविन्दु
बनेर।
********
४. निद्रा
समुद्रमा जसरी मछुवाहरू
जाल फ्याक्ने गर्छन्
अनि समात्छन् माछाहरू
म पनि फ्याक्न चाहान्छु
एउटा जाल
तीव्र गतिले
आकासतर्फ
अनि समात्न चाहान्छु
केही छायाँ
केही हावाका झोक्काहरू
केही मिठा सपनाहरू
माटोको सुगन्ध
अञ्जुलीभरि चाँदनी….
जसलाई ओढाइ दिनुछ
बिलौना गरिरहेको
त्यो बालकलाई
जसलाई झुलाइरहेकी छे
सडकको किनारमा
घाममा ढुङ्गा फुटाइरहेकी
आमा।
********
५. सपना
म मरेँ एकदिन
जसरी अन्य मानिसहरू मर्ने गर्छन्
मलाई यमलोक लिएर गए
चित्रगुप्तले उल्टोपाल्टो गरी
नियाल्न थाले
मेरो जीवनको लेखा-जोखा
धेरै दिमाग खियाए पछि
चित्रगुप्तले यमराजसित निवेदन गरे
हजूर, यिनी कवि हुन्
आजीवन शब्दहरूले घेरिएका छन्
लेख्ने गर्छन् कविताहरू
पृथ्वी, आकास, सूर्य, चन्द्रमा, चरा-चुरूङ्गी, पर्वत
चित्रकारिता, अनि
कलाका अनुपम इमारतहरूमाथि
यिनले लेखेका छन्
केही सन्की सत्ताधारीहरूका
हिटलरी फरमानहरूका विरूद्धमा
भोकले तडपिरहने मानिसहरूका
रोटीका अधिकारमाथि
बेकाबु, उन्मादी भीडद्वारा मारिएका
निहत्था, निर्दोष मानिसहरूमाथि हुने अन्यायमाथि
यस ‘अपराध’का निम्ति पहिला बन्दी बनाइयो
अनि फेरि मारियो यिनलाई
यमराजले धैर्यपूर्वक विचार गरी
आदेश दिए
हामीले अगाडिको कुनै कार्वाही गर्न अघि
यो सुनिश्चित गरियोस्
कि जीवित रहोस्
कम से कम एकजना अन्तिम कवि
पृथ्वीमा
ताकि बाँचीरहोस् पृथ्वी
अनि पृथ्वीका शिष्ट मानिसहरू
म जिरिङ्ग भइ ठिङ्ग उभिएँ
जीवित थिएँ म
अनि जीवित थियो पृथ्वी
एकजना कवि पनि।
********
बिलोक शर्मा:ः
बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।