प्रल्हाद कुमार ढकाल

बाउले भने
नामर्द नबन
काकाले भने
कुटेर आइज
दाजुले भने
त्यसको सेखी झार
साथीले भने
नडरा न यार

आमाले भनिन्
तैं हो मलाई पाल्ने
फूपुले भनिन्
तैं हो कुलको बत्ती
दिदीले भनिन्
तैं हो मेरो माईती
बहिनीले भनिन्
दाजु मेरो दादा

ससुराले भने
कन्यादान
सासुले भनिन्
पाले पुण्य मारे पाप
सालीले भनिन्
मेरो भेना वाफ रे वाफ
जहानले भनिन्
सात फेरो जुनी सात

परिवारले भन्यो
तँ नै घरमूली
समाजले भन्यो
तँ होस पुरुष
देशले भन्यो
नझुक्ने नेपाली
संसारले भन्यो
बहादुर गोर्खाली

म भित्र भित्रै भक्कानिदा
आँसु झारिन्
पीडै पीडाले खुत्रुक्क हुँदा
ऐया भनिन्
तिम्रा फरिया फाट्दा
नामर्द ठाने
तिम्रा भोका पेटहरु
नपुँसकता माने
मेरा पुरुष अहंकारले
तिमीलाई बन्चित बनाएँ
सहनिर्भरतालाई
परनिर्भर बनाएँ
मेरा छद्म पुरुषत्वले
समाजै विभेदी बनाए
कायरता लुकाउँन
आफूलाई हिंस्रक बनाए

जबरजस्ती बहादुर
जसरी पनि शुरो
म रुँदै नरुने
मर्दको छोरो ।