साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आऊ हामी, आगो फुल्ने रुख बनौं!

रवि रोदन

रवि रोदन

हाम्रा आँखाहरु चिथ‍ोरेर
उनीहरु
आकाशतिर हेर्दै चिच्याउँछन्

भन्छन् –
आऊ हिर्काउँ यो घाम
आऊ फुटाउँ यो घाम
हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम !

गिद्धहरु
आफ्ना आँखामा
हरबखत आगो बोकेर हिँड्छन्
#द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो
#एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको
एकलव्यले औँली चुडायो
र देखाइदियो
अर्जुण र उसको रगत एउटै हो
उनीहरुले पत्यानन्
वास्तवमा एकलव्य निख्खुर कालो छ
ऊ कुरुप छ
#ऊ_एकलव्य हो
#ऊ_जर्ज_फ्लोइड हो
#ऊ_नवराज_विक हो
#ऊ_दीपिका परियार हो
#ऊ_दीपशीला सुनार हो
#ऊ_जगत राम हो
#ऊ_रामलाल हरिजन हो।

bahulako diary small and inside post

जातीय विभेद रङभेदकै कारण
घिच्रोमा
घुँडाले बेस्सरी थिचेरै
सडक बीच
निर्दोष #जर्ज_फ्लोइडहरु मारिन्छन्
त्यो अमेरिका यता
भारतमा पनि छ
नेपालमा पनि छ।

घामबिनाको कालो संसारमा
हामी सुतेकै ओछ्यानमा
उनीहरु लुकेर आउँछन्
र बलात्कार गर्छन्
हाम्रो शरीर स्वाभिमान र त्यसपछि
हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन्।

विरोध गर्ने हाम्रा टाउकाहरु कुल्चेर
हाम्रो लाशहरुमाथि उभिएर
उनीहरु गीतार बजाउँछन्।

सास फेर्न गाह्रो भएको छ
हामी बाँची रहेको मुलुकभित्र
सास लिन पाउनुपर्छ
मर्न अघि बोल्न पाउनुपर्छ सबले
#जर्ज_फ्लोइडले मर्नअघि बोले।

लोकतन्त्रको बाघ
गर्जिने यो मुलुकमा
मजदुरहरु मारिन्छन्
छोरीहरु लुटिन्छन्
खोलाका बगरमा दलितहरुको हत्या गरिन्छ
न्यायको नाममा अन्याय गरिन्छ
सत्ता चुपचाप रमिता हेर्छ ।

हाम्रो छुटेको अनुहार
अब कस्ले खोज्ने??
यो असमानताका साङ्गलाहरु चुँडिनुपर्छ
लु बनौं न हामी विप्लवी
अब बरु उनीहरुले
बाघी घोषित गरोस् हामीलाई
यो युद्धमा हामी होमिनै पर्छ
आऊ हामी
आगो फुल्ने रुख बनौं!!

 

( सिक्किम, भारत)

प्रतिक्रिया
Loading...