रवि सुवेदी

बाबु तिमीले संसार चिन्यौ
देश विदेशका कुना कुना चहार्दै हिँड्यौ
तर
आज तिमीलाई म हाम्रै घरबारी चिनाउँछु
किनकी म बूढो भइसकेँ

मेरो साथमा पहिलाको जस्तो तागत छैन
काम गर्न त्यति जाँगर पनि छैन
त्यसैले त तिमीले
अब आफ्नो घरबारी चिन्नुपर्छ
नत्र त तिमीले आफ्नो जग्गा पनि आफ्नै पैसाले किन्नुपर्छ

हेर त
पूर्वबाट पश्चिमतिर फुक्दै गरेको
यो गरो सबैभन्दा उर्वर छ
यहीँ फल्छन् हामीले बर्षभरि खाने अन्न
यहीँ बाट बल्छ तिम्रो शिक्षाको ज्योति
यहीँ बाट बगेका छन् तिम्रा नसा-नसामा रगतहरू
यहीँ बाट चलेका छन् तिम्रा विगतहरू

तर
हेर त
तल्लाघरे माहिलाले बर्सेनि खोस्रिँदैछ
तिम्रो खेतलाई
उत्तरतिर डाँडाघरे जेठाले बर्सेनि उकास्दैछ
तिम्रो खेतलाई
यो खेतको बिच बिचमा हेर त
आफ्नै खेतको मुसाले खन्दै गरेको

यति हुँदापनि के तिमी चुपचाप बस्न सक्छौ ?
म बूढोलाई त सोह्रबर्षे जोस आउँछ
के अझै पनि तिमी
आफ्नो जग्गामा बेखबर रहन सक्छौ ?
सधैं अर्काको थिचोमिचो सहन सक्छौ ?
के तिमीलाई यसपाली आफ्नै जग्गामा
रोपाइँ गर्न मन छैन ?