कविताः भोकको सारांश

एकचोटि सोधि हेर्नु साथी शान्तिलाई
कि कस्तो हुन्छ अशान्तिको प्रकोप
तब शान्तिको मलिन अवाजले भनेको जवाब कस्तो हन्छ थाह पाउनेछौ
यसैकारण पनि शान्ति-शान्ति भनेर माला जप्नु थाली नहाल
वा शान्तिको नाममा महापुराणको आयोजना गरिनहाल
किनभने अशान्तिको कालो बादल आइपुगी हालेको छैन तिम्रो गाउँमा अहिले
जानिराख कसैलाई पनि नलागेको भोक हो जीवनको

किनभने आजसम्म दोहोरीरहने कहाानी
र त्यसको मूल पर्याय एउटै हो
भोकाउनेहरु नअघाउन्जेलसम्मको लागि मात्र भोकाएका हुन्
र अघाउनेहरु फेरि भोक नलागेसम्मको लागि मात्र अघाएका हुन्
तबसम्म मर्यादाको घेरो सुरक्षित नै हुन्छ ।

फरक यति हो पहिले-पहिले भोक पेटसम्म सीमित थियो
र
जीवनको रङ्गहरु एउटै थियो
अर्थात शान्ति
सन्तुष्टि
र जीवनका महाव्खाख्यानहरु
एउटै बिन्दुमा अडेको थियो ।
अहिले भोक पेट बाहिर छ
र
बिस्तारै बिस्तारै भोकले निल्दै गइरहेछ सर्वस्व ।
जुन दिन हो भोकले जीवनसित नाता तोडेर
अजबका सिद्धान्तहरु बनाएको
त्यही दिनदेखि हो जीवनले
एउटा अन्तहीन युद्धको घोषणा गरेको पनि
अहिले दृश्यको एक छेउदेखि अर्को छेउसम्म एउटा मैदान छ
र दुवैपट्टी
असंख्य अनुहारको भेल उभ्भेका
भोकको नयाँ अनुहार
भोकको पुरानो अनुहार
एउटाको हातमा शान्तिको निलो झण्डा
जसमा लेखिएको छ भोकभन्दा जीवन श्रेष्ठ
अर्कोको हातमा छ अशान्तिको कालो झण्डा
जसमा लेखिएको छ भोकबिना जीवन अर्थहीन्
केही बेर मात्र छ बिगुल फुकिनु
र शुरू हुनेछ
जीवनको नयाँ महासंग्राम
या त भोकले जीवनलाई निलेर सधैको लागि भोको रहनेछ
या त जीवनले भोकलाई निलेर सधैको लागि अघाउनेछ ।