प्रकाश बेलबासे

प्रकास दाइ
तिम्रो महलको सिढीं उक्लिदै गर्दा
मलाई घरको लिस्नो याद आयो

गुलाबी कलर टायल र मार्बल
मुसार्दै यी चिल्ला डन्डि
तिमी लागानिको कुरा गर्छौ
मेरा आँखा तिम्रा सिढींहरुमा
मन पुगेछ मेरै घर
नियाल्दै फुल्बुट्टे चित्रहरु म उक्लिदै छु तिम्रो सिढीं

म त स्मृतिमा पो गएछु
सम्झिदै बन्चरो बछुला र छिना
अहो त्यो करमको बुटो
मेरो दिनभरको मेहनत नुनिलो पसिना
मकैको रोटो बाइबंडा र पुदिनाको अचार
सरर्र…
तिम्रो महलको सिंढीं उक्लिदै गर्दा
मलाई घरको लिस्नो याद आयो

थोरै मास्थिरिए पछि
रोकियो सिढीं मोडियौ तिमी
यो पहिलो फ्लोर चिनाउदै छौ महल
देखेर तिम्रो तल्ला म त मेरै आँटिमा पुगेछु
भुइँमा कार्पेट र गलैंचा
मैले गुन्द्री सम्झिएँ
र सम्झिएँआँटी माथिको छानो भाटा चोया र खर
देखेर सिलिङमा बाटुलो बत्ती
मलाई मेरै छानाको बारुलो याद आयो

तिम्रो घरको सिंढीं उक्लिदै गर्दा
मलाई घरको लिस्नो याद आयो

कौसिमा तिम्रो गमलामा फूल
आहा ! मेरो त्यो आगनिको गुर्दौली
तिम्रा डफले बिस्तारा मेरो गुन्युको ओछ्यान
कुसन र सोफा मेरो घुमेको पिढीं
देखेर यो अजङगको टि .भी.
मलाई त आफ्नै फिलिप्स रिडियो याद आयो
काठको बाकस झिप्-झिप बत्ति
भौमानको फोटो ओइलिएको फूल

यी सबै -सबै देखेर
मलाई मेरै आँगनीको मैरी तुलसी र दियोको आद आयो
तिम्रो महलको सिढीं उक्लिदै गर्दा
मलाई घरको लिस्नो याद आयो

एउटै महल कत्ती कोठा
त्यो बाको यो मेरो अनि पल्लो पाहुनाको रे
पूजा कोठा टिभी कोठा आराम कोठा
अहो ! कोठै कोठा कोठै कोठा
यो देखेर सबै लीला
मझेरी मुल्चौको र अँगेनी सम्झिए !
र सम्झिए कटेरि बारेको बैठक

फ्राई पेनमा देखेर चम्सुर र पालक्म
लाई अगेनिमा डसेको सिस्नोको याद आयो
देखेसी फ्रिज बोत्तलमा पानी
मलाई घैँटो र मुलको याद आयो

सक्किए सिढीं रोक्किए पाइतला
पुगिएछ तिम्रो छत
डडम बाल्टी र रंसि अनि गुजुमुज्ज लुगाहरु
कठै ! यो पानीको अभाव
मलाई त मेरै पंधेरो
वर र पिपलको चौतारी याद आयो

तिम्रो महलको सिढीं उक्लिदै गर्दा
मलाई घरको लिस्नो याद आयो !