कविताः असार


सारा धर्ती चपल वयको हर्षले पुल्पुल्याई
बाजागाजा सगर बीचमा नादले गुन्गुनाई ।
वर्षा साथै कृषक जनमा मेघ सन्देश ल्यायो
मानो रोप्ने रहर बीचमा मास आषाढ आयो ।।
पृथ्वी सारा हरित हुँदछिन् प्रीतले रङ्ग भर्दा
सेता सेता बरफ असिना पग्लदै दङ्ग पर्दा ।
डुल्दै आली डिल सतहमा भ्यागुतो पो करायो
बस्दा बस्दै विरह सकिने मास आषाढ आयो ।।
गुन्जन्छन् है लय सुरसुधा गीत कस्तो मिठास
रम्छन् वातावरण सबमा पल्लवीको सुवास ।
तातो हावा शरीर बीचमा चुम्न भन्दै सुसायो
माटो खेल्ने सकल सुखको मास आषाढ आयो।।
पानी बोकी तरुण रुपकी अप्सरा स्वर्गबाट
धर्ती सारा रसमय हुने कल्पनामा विराट ।
कालो कालो गगन बीचमा मेघ पो गड्गडायो
जन्ती बोकी रथ सहितको मास आषाढ आयो ।।
हेटौंडा