विष्णु एस राई

घर आधारभूत आवश्यकता हो
महल होस् वा झुपडी
घर सबैको हुन्छ
तर आमाको घर नि
खै कहाँ छ आमाको घर ?

मैले सोधपूछ गरें
के थाहा भयो भने
मेरो घर जहाँ आमा पनि बस्नुहुन्छ
त्यो त उहाँको घर रहेनछ
त्यो त उहाँको ससुराली रहेछ

मैले अझै खोज तलाश गरें
के थाहा भयो भने
स्यानो छँदा म जहाँ जान सधैं लालायित रहन्थें
त्यो मामाघर
जहाँ आमा जन्मिनु भयो
भाँडा कुटी खेलेर हुर्किनु भयो
त्यो पनि उहाँको घर रहेनछ
त्यो त उहाँको माइत रहेछ

मैले अनुसन्धान जारि राखें
के पत्ता लाग्यो भने
मेरी आमाको बिहे भएपछि
उहाँ रेग्मीबाट पोख्रेल हुनुभयो रे
आमाको नाम कसैले सोद्धैनन्
महाज्ञानी र पण्डितहरूले पनि
कसको छोरा सोद्धा सबै बुबाकै नाम भन्दा रहेछन्
जबकी जन्मदिने त आमा हुन्
लोकतन्त्रको संसदमा पनि
यस विषयमा कहिले कुनै बहस भएन

मैले सबैलाई सोधें
तर कसैले भनेनन्
सब तै चुप मै चुप
अन्तमा मैले आमालाई नै सोधें
आमाले अलि हाँस्दै भन्नुभयो
बाबु १ मा जहाँ बस्छु घर त्यहीं बन्छ ।

विष्णु एस राई नेपाली, अँग्रेजी दुवै भाषामा समान रूपले कलम चलाउनुहुन्छ यी भाषाहरूमा उनका क्रमशस् पाँच र चार वटा पुस्तकहरू प्रकाशित छन् उहाँ हिन्दी र मैथिलीमा पनि लेख्नुहुन्छ र उनका फुटकर कविताहरू सो भाषाहरूका विभिन्न पत्र(पत्रिकाहरूमा प्रकाशित छन् त्रिभुवन विश्वविद्यालयको अँग्रेजी शिक्षाको प्राध्यापक पदबाट सेवानिवृत भएर अहिले उहाँ पूर्ण रूपले साहित्य (सृजनामा लाग्नु भएको छ ।