हाम्रा आँखाहरू चिथोरेर
उनीहरू
आकाशतिर हेर्दै चिच्याउँछन्

भन्छन्
आऊ हिर्काऊ यो घाम
आऊ फुटाऊ यो घाम
हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम !

गिद्धहरू
आफ्ना आँखामा
हरबखत आगो बोकेर हिँड्छन
द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो
एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको
एकलव्यले औंली चुडायो
र देखाइदियो
अर्जुन र उसको रगत एउटै हो
उनीहरूले पत्याएनन्
वास्तवमा एकलव्य निख्खुर कालो छ
ऊ कुरुप छ
ऊ एकलव्य हो
ऊ जर्ज फल्योड हो
ऊ नवराज विक हो
ऊ दिपिका परियार हो
ऊ दीपशीला सुनार हो
ऊ जगत राम हो
ऊ रामलाल हरिजन हो ।

जातीय विभेद रङभेदकै कारण
घिच्रोमा
घुँडाले बेस्सरी थिचेरै
सडकबीच
निर्दोष जर्ज फ्लयोडहरू मारिन्छन्
त्यो अमेरिका यता
भारतमा पनि छ
नेपालमा पनि छ ।

घामबिनाको कालो संसारमा
हामी सुतेकै ओछ्यानमा
उनीहरू लुकेर आउँछन्
र बलात्कार गर्छन्
हाम्रो शरीर स्वाभिमान र त्यसपछि
हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन् ।

विरोध गर्ने हाम्रा टाउकाहरू कुल्चेर
हाम्रो लाशहरूमाथि उभिएर
उनीहरू गीतार बजाउँछन् ।

सास फेर्न गाह्रो भएको छ
हामी बाँचिरहेको मुलुकभित्र
सास लिन पाउनुपर्छ
मर्न अघि बोल्न पाउनुपर्छ सबले
जर्ज फल्योडले मर्न अघि बोले ।

लोकतन्त्रको बाघ
गर्जिने यो मुलुकमा
मजदुरहरू मारिन्छन्
छोरीहरू लुटिन्छन्
खोलाका बगरमा दलितहरूको हत्या गरिन्छ
न्यायको नाममा अन्याय गरिन्छ
सत्ता चुपचाप रमिता हेर्छ ।

हाम्रो छुटेको अनुहार
अब कस्ले खोज्ने ?
यो असमानताका साङ्गलाहरू चुडिनुपर्छ
लु बनौ न हामी विप्लवी
अब बरू उनीहरूले
बाघी घोषित गरोस् हामीलाई
यो युद्धमा हामी होमीनै पर्छ
आऊ हामी
आगो फूल्ने रूख बनौं !