कविता : रमाइलो असार


हिजोसम्म सूर्यको
प्रखर उष्णताले
पिल्सिएको धरती,
आज श्रमको पसीनाले
उन्मत्त छ।

०
रातभरि असीनाले चुटेर
खिन्न भईसकेका खेतबारी
आज रसियाको धूनमा
सन्तप्त छ।
०
आफ्ना पोल्टाभरिका पानी
सबै खन्याएर
बादलले छताछुल्ल पारेको छ ।
०
दिनभरि खेतमा काम गर्ने
हली, कोदाले, वाउसे
र
सबै रोपाहार ।
लिई हिलै हिलो मुखभरि,
लिई हिलै हिलो ऑखाभरि
हिलैको टीका
लगाएको निधार।
अनि
भोकमा खाई
दही, चिउरा, अचार।
मस्त छन् सबै,
उन्मत्त छन् सबै
लाग्छ मलाई,
यसरी नै व्यस्त होस् जिन्दगी,
यसरी नै मस्त होस् जिन्दगी,
यसरी नै अस्त होस् जिन्दगी,
अनि पो हुन्छ भोली,
धनधान्यपूर्ण संसार।
०
यसरी नै
भोलीको सुख बाँडदै,
सौंदर्य्य र सौरभ छर्दै,
आशा र विश्वास भर्दै,
आई पुग्यो,
लिएर
प्रकृतिको सुन्दर उपहार,
अहो ! रमाइलो असार !