ज्ञानेन्द्र खतिवडा (दार्जीलिङ)

एक झोंका हावा छिरेपछि

अगेनोबाट अचानक

हुर्रिएर आगो मेरो अघिल्तिर

आइपुग्यो

र,  भन्यो-

“मलाई काम देऊ

सधैँ यो निभेको चुल्हामा

खरानीभित्र गुम्सिएर

बसिरहन सक्तिनँ म”

र, अझ भन्दैगयो-

“मेरा हात र जिब्राहरू सधैँ

यसरी अचल भई बसिरहन

सक्दैनन् ।”

 

सबैतिर अँध्यारो छ

सबैतिर भताभुङ्गै/लथालिङ्गै छ

आगोको शक्ति बुझेर पनि

आगोलाई कुनै काम

अह्राउनै सकिनँ मैले

 

भनौं- आगाका हातहरू

बाँधिदिएँ मैले

मानौं-बिहानै मशाल बोकेर

आउने घामकै कर्मठ

हातहरू बाँधिदिएँ मैले

भनौं- आगोको रातो जिब्रो

थुतिदिएँ मैले

मानौं-झुल्कँदो घामको तातो

जिब्रो नै

लुछिदिएँ मैले

 

घाम झुल्कन नसकेको

यो पहाडमा

आगोको जिब्रोले

क्रान्तिको ज्वाला सल्काउन सक्छ

आगोको सहस्रौं हातले

बिद्रोहको झण्डा

उचाल्नसक्छ ।

 

यी सब

जान्दाजान्दै पनि

आगोलाई कुनै काम दिनै

सकिनँ मैले

सायद म अँध्यारो रुचाउने

लाटकोसेरो हुँ।

सायद सधैं ढाडमा ढुङ्गो चढाएर

बाँच्ने बर्स्यौलो नै हुँ ।