रविन थपलिया

१)

सत्य खोज्छु भन्दै
फेरि आमाको गर्भमा
छिर्नु पर्दैन महाशय
यदि
आमाको नयनमा सिधा हेर्न सक्छौ

त्यसरी हेर्दा
तिम्रो प्रतिविम्ब आमाको आँसुमा छचल्किन्न
आँखाको नानीमा स्थीर देखिन्छ भने
तिमी सत्य छौ
तिम्रो बाटो सत्य छ
भीडले खोज्यो भन्दैमा
ढोङको पहिरोमा नपुरियस्
भीडले त रमाइलो मात्र खोज्छ
क्षणिक।

विचारहरुको आत्महत्या

सपना जस्तै
आत्महत्या गर्छन
विचारहरु

विचारहरु
हाँडीमा मकै झैँ भुटेर
चपाइचपाइ अघ्याँउजी खाएर
ज्ञान डकार्नु पर्ने हो
विडम्बना
यी लामवद्ध आउँछन्
लयवद्ध आउदैनन
यी चुपचाप आउँछ्न्
तर अनुशासित आँउदैनन्
यी भिमकाय आउँछन्
तर अथी आउदैनन्
तसर्थ
मैले दाम्लाले कसे पनि
अकण्टक कुरुवा बसे पनि
विचारको थुप्रो मनमा पसे पनि
विचारहरु
आत्मदाह गर्छन्
सपना जस्तै ।