प्रकाश बेलबासे

भिसा पाएको दिन
भविष्य सम्झिएँ
रोएँ

जहाज चड्ने दिन
विगत सम्झिएँ
रोएँ

तनखा बुझेको दिन
अभाव सम्झिएँ
रोएँ

कार्ड पाएको दिन
संघर्ष सम्झिएँ
रोएँ

पासपोर्ट त्यागेको दिन
देश सम्झिएँ
रोएँ

सबैथोक पाएँ
धेरैथोक गुमाएँ

ए सपना !
अब मलाई घरी घरी गाउँ नदेखा
म यतैको हुँ
नालनातो बाआँमै नदेखा
पर्व र चाड नदेखा

उतै केही गर्ने
विषय र संभावना नदेखा
म त मन भत्काएर हिँडेको यात्री हुँ
फर्किने बाटो नदेखा

मलाई एकफेर
खुसी देखा हाँसो देखा
सुखले बाँच्ने बाटो देखा

म पुर्व नेपाली हुँ
ए सपना
मलाई बारम्बार जन्मिएको माटो नदेखा !