माटोले पनि पोल्न थालिसक्यो
ढुङ्गाले पनि बोल्न थालिसक्यो
हामीसँग चाहिँ छैन र क्षमता ?
लजाउँदै धकाउँदै परपर किन भाग्ने
कुण्ठा लुकाएर कतिन्जेल चुप लाग्ने
जम्मा भई चौतारामा आउनोस् अब बोलौँ
मिलौँ दुई-चार जना र एउटा पार्टी खोलौँ
हामीसँग पनि छ पार्टी चलाउने योग्यता
कुरा काट्न जानेकै छौँ
अरूलाई ढाँट्न जानेकै छौँ
अगाडि आउनेलाई ठिक्क पार्न
आल्टाल गरी गरिकन काम टार्न
देखेर सुनेर भोगेर हामीले जानिसक्यौँ
अब कसैले सिकाउनु पर्दैन
आउनोस् हानौँ झटारो
झरे झर्छ नझरे झर्दैन
स्कुल खोले बालबच्चा पढाउनै गाह्रो
पसल खोले ग्राहक बढाउनै गाह्रो
सजिलो त पार्टी खोल्नै रहेछ
अरू जम्मै बाटो र पाटोलाई बिर्सिऔँ
बरू आफ्नै आमा र माटोलाई बिर्सिऔँ
चिया पसलमा बसेर चियासँग गफ घोलौँ
मिलौँ दुई-चार जना र एउटा पार्टी खोलौँ
थाहा भो आफ्नै चिन्ता ठूलो रहेछ
यसको र त्यसको के मतलब
जनता र देशको के मतलब
सके कुम्ल्याउने कमाउने
नसके हल्लिने रमाउने
कोही चन्दा उठाउन थालौँ
कोही समर्थन जुटाउन थालौँ
भन्नेले भन्लान् चल्दैन यसरी दाल गल्दैन
रोपौँ न बीउ फले फल्छ नफले फल्दैन
न गह्रौं भारी बोक्नुपर्ने
न जिम्मेवारी बोक्नुपर्ने
बोक्ने त्यही झण्डा मात्र हो
गर्ने अनेक फण्डा मात्र हो
जुटेर नभए फाइदा फुटेर लुट्नुपर्छ
हल्लाखल्ला मच्चाएर हठात् शान्ति बिथोलौँ
मिलौँ दुई-चार जना र एउटा पार्टी खोलौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।