नारायण खनाल

निल्न खोज्दैछ
अजिङ्गरले
जुरेलीको गर्भबाटै
राष्ट्र प्रेमको भ्रुण
निभाउन खोज्दैछ
हुँडारले
उज्याला किरणहरू
कर्मठका आँतहरूबाट

कुँजो बनाएर
स्वाभिमानी चेत
लुट्न खोज्दैछ
शासकले
आमाको अस्मिता
नष्ट गरिदिँदा विवेक
स्वार्थले
निमोठिरहेछ माली
बगैँचाका फूलहरू

जोगाउनु छ
कर्तव्यको महिमा
एकताका हातहरूले
फुटाउनु छ बाँझो
पसिनाका बुँदहरूले
सक्नु छ जूनले
आकाशमा उदाउन
निरन्तर

उषाले
सिन्दूर भरिदिएर मात्र
कहाँ हुन्छ र
सगरमाथाको शिरमा
झण्डा फहराउनु पर्छ
स्वाभिमानको
सक्नुपर्छ चमेलीले
जनताका छातीहरूमा
हिम्मतको
मसाल बाल्न

लिपुको शिरमा बसी
गँड्यौला
र माहुरीको मुहारको
खुसी हेर्न आतुर छ सत्य
कञ्चनजङ्घाको शिरबाट
शान्तिको बिगुल फुक्न
आतुर छन् बुद्ध
आतुर छ नेपाली पन
छिमेकी गोमन टुटेको हेर्न

त्यसैले
जनताको भरोसा
उज्यालोको आधार
कर्म
र स्वाभिमानको
सूर्य उदाउनु पर्छ
मनको आकाशमा
सधैंभरि
किनकि
सत् पुज्य हुनु छ
सृजना फुल्नु छ
अनि
स्वाभिमानले
उडान भर्नु छ
नेपाली आकाशमा
हो, जून !
तिमी उदाउनु पर्छ
छिचोल्दै निस्पट्ट अँध्यारो
हो, रवि ! तिमी उदाउनुपर्छ
चिरेर निशालाई
नेपाली आकाशमा
किनकी
लिम्पियाको आँसु पुछ्नु छ
जनले सचेतताको
आँटिलो स्वाभिमानले।

 

अर्घाखाँची