कसैको पाइला पछ्याउँदै
केही नहुँदा अब त केही हुन्छ कि भन्दै
तँसम्म आइपुगेको थिएँ म पनि
जीवन जिउने आधार खोज्दै
समृद्धिको सपना बुन्दै
तर तँ त पापी रहेछस् भ्रष्टाचारी परिवर्तन
कति घैला भर्छस् परिवर्तन त अब भरि+वर्तन= भाँडो भरिँदैछस्
तँ साह्रैजाली रहेछस्
तैले विश्वास निल्दो रहेछस्
नाता भुल्दो रहेछस्
सहज हुन्जेल मात्रै आफ्नो भन्दो रहेछस्
असहज भएपछि चिन्दैन रहेछस्
आशा देखाएर राखिस्
दुई चार दिन
गोजी खाली भएपछि धकेल्दो रहेछस्
तँ साह्रै पापी रहेछस्
तँ साह्रै जाली रहेछस्
हुन त मेरो एक भोट तँलाई काम दिएन
म सँगको नाता तँलाई आफ्नो भएन
तेरो र मेरो देश एउटै हो
तँलाई थाहै भएन
अझ भनौं मसँग तेरो कुनै नातै रहेन
तर तँ परिवर्तन कसरी भइस
तँ परिवर्तन हुनलाई
मेरो परिश्रमको पनि त देन थियो
तँलाई सिँगार्न मेरा हत्केलामा चिरा अनि
तेरो खाल्डो पुर्न पैतालामा डोब थियो
म जस्ताको पसिनाले भिजेर भएको परिवर्तन ल्याउँनलाई
मलाई नै आज नचिन्ने भइछस्
संकटमा आफ्नो भन्न नजान्दो रहेछस्
अभावमा मानो भर्न नसक्दो रहेछस्
तँ मात्रै बोक्रो रहेछस्
म आफै भरिँदा आफ्नो भन्दो रहेछस्
खाली हुँदा तँ झन् खाली हुँदो रहेछस्
तँ साहै पापी रहेछस्
तँ साह्रै जाली रहेछस्
हुन त तँ माथि विश्वास गर्नु नै भ्रम हो
पटक-पटक भरोसा गर्नु मेरै गल्ती हो
तर पनि मैले आफ्नो ठानी रहेँ
जति धकेले पनि फर्किरहेँ
तर अब कुनै नाता सम्झेर म फर्कन्नँ
म र मेरो गाउँ नहुदाँ
तँ कसरी परिवर्तन भइरहन्छस्
र तेरो को हुन्छ
त्यो नबुझाई फर्कन्नँ
संरचनाको परिवर्तन तँलाई संस्कार
नसिकाई फर्कन्नँ
भरि गोजीको नाता मात्रै जान्ने तँलाई
मानवताको नाता नबुझाई फर्कन्नँ
किनकी तँ साह्रै स्वार्थी रहेछस्
तँ साह्रै मतलबी रहेछस्
केही हुँदा मात्रै आफ्नो भन्दो रहेछस्
केही नहुँदा जबर्जस्त धकेल्दो रहेछस्
तँ साह्रै पापी रहेछस्
तँ साह्रै जाली रहेछस् !
[युवराज घलेभाइ
अप्पर बुर्तुक हेलीपेड रोड गान्तोक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।